काठमाडौं । ल्यापटप/कम्प्युटरको आधिकारिक आयातकर्ता तथा वितरक म्याक्स इन्टरनेशनले ल्यापटपरकम्प्युटर लगायतका सामग्री आयात गर्दा भन्सार छली गरेको आरोप लागेको छ । साथै ग्राहक ठगी गरेको समेत आरोप रहेको छ ।
यो सँगै म्याक्स इन्टरनेशनको सो कार्यका विरुद्ध हेलो सरकार र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरीसमेत परेको बताइएको छ।
उक्त कम्पनीले डेलको कम्प्युटर आयात गर्दा भन्सारमा र उपभोक्ताला२ बिक्री गर्ने क्रममा फरक विवरण अर्थात् स्पेसिफिकेशन लेखेर ठगी गरेको भन्दै गत भदौ ५ गते गुनासो दर्ता भएको देखिन्छ।
उजुरीकर्ताले उजुरीमा म्याक्स इन्टरनेशनलले चीनमा बनेको सामान ‘१४ जेनको आईथ्री प्रोसेसर भएको कम्प्युटर आयात गरेको र एमआरपी अर्थात् अधिकतम खुद्रा मूल्यको लेबलमा १२ जेनको आई५ प्रोसेसर प्रिन्ट गरेर उपभोक्तासँग धोखाधडी गरेको अवस्था हो। नेपालको भन्सारको मिलेमतोमा यो सबै सम्भव भएको हो’ भन्ने उल्लेख गरेका छन्।
छानबिन गरियोस् भन्दै परेको उक्त उजुरीलाई हेलो सरकारले गत भदौ १५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पठाइसकेको छ। हेलो सरकारको पोर्टलमा भने उक्त उजुरी कारबाहीको ‘प्रक्रियामा’ रहेको देखिन्छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका लागि टोली पठाएको तर ठेगाना स्पस्ट नभएकाले फेला पार्न नसकिएको बताएको छ ।




