RE
Global College

बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ आज राति भारतीय तट आइपुग्ने

काठमाडौं । बङ्गालको खाडीमा बनेको ‘डीप डिप्रेसन’ पछिल्लो छ घण्टामा १२ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिमतर्फ बढेको छ।

बुधबार बिहान ५:३० बजे यो प्रणाली आन्ध्र प्रदेशको कलिङ्गपट्टनमबाट करिब ७० किलोमिटर टाढा समुद्रमा अवस्थित थियो।

भारतीय मौसम विज्ञान विभागका अनुसार बुधबार रातिसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटबिच पर्ने कलिङ्गपट्टनम नजिकबाट गुज्रिँदै यो समुद्री आँधीले तट पार गर्ने सम्भावना छ। डीप डिप्रेसन भनेको समुद्रमा बन्ने कम वायुमण्डलीय चापको एउटा शक्तिशाली अवस्था हो, जुन तीव्र हावाहुरीसहित अघि बढ्ने गर्छ।

यसैबिच भारतको मध्य प्रदेशका छिन्दवाडा, सिवनी र बालाघाटमा बुधवार भारी वर्षाको चेतावनी दिइएको छ। त्यसैगरी बिहारका सम्पूर्ण ३८ वटा जिल्लामा वर्षाको चेतावनी दिँदै पहेँलो सतर्कता जारी गरिएको छ।

अर्कातर्फ राजस्थानमा भने वर्षा रोकिएपछि गर्मी बढेको छ। जेसलमेरमा तापक्रम ४१ डिग्री र बीकानेर तथा बाडमेरमा ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ।

सेप्टेम्बर महिनामै मे महिनाको जस्तो उखरमाउलो गर्मी महसुस भइरहेको छ। मौसम विभागका अनुसार राजस्थानमा आगामी चारदेखि पाँच दिनसम्म मौसम सुक्खा रहने र गर्मी अझै बढ्ने सम्भावना छ।

Leave Your Comment

Related News