काठमाडौं । बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विभिन्न भू भागमा प्रवेश गरेको छ । मौसम विभागका अनुसार बङ्गालको खाडीको असरस्वरुप हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ।
विभागका अनुसार बङ्गालको खाडीको गहिरो न्यून चापीय क्षेत्र भारतको विशाखापट्टनम र गोपालपुरको बीच, कलिंगपट्टनमको दक्षिणपश्चिम नजिकबाट उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ। यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर-उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ।
विभागका अनुसार बिहीबार मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लागेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी, मधेश र बागमती प्रदेशमा धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको एक / दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।



