काठमाडौं । लगातारको वर्षासँगै बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा असोज ७ देखि ११ गतेसम्म धनकुटासहित देशका विभिन्न क्षेत्रमा अतिभारी वर्षाको सम्भावना रहेको छ।
सम्भावित बाढी, पहिरो, कटान, गेग्य्रान बहाब तथा डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ। सूचनाअनुसार राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइनेछ। यो व्यवस्था विशेषगरी भेडेटार–रवि–राँके सडकखण्ड, मूलघाटदेखि पाँचथर सीमासम्मको तमोर करिडोर तथा भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने तथा फर्किने सवारीसाधनमा लागू हुने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई विपत् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
जोखिमयुक्त सडक तथा राजमार्ग क्षेत्रमा डोजर, एक्स्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ। पूर्वसूचना तथा चेतावनीका आधारमा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत प्रशासनले आग्रह गरेको छ। अचानक बाढी आउन सक्ने खोला, खहरे तथा पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।



