काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै सेयर तथा ऋणपत्रमा लगानीको न्यूनतम अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गर्नुका साथै आगामी आर्थिक वर्षका लागि प्रतिचक्रीय पूँजी बफर (Countercyclical Buffer) शून्य प्रतिशत रहने नयाँ व्यवस्था लागू गरेको छ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी परिपत्रमार्फत एकीकृत निर्देशन २०८२ का विभिन्न बुँदाहरू परिमार्जन तथा थप गरिएको जानकारी दिएको छ। राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको यो निर्देशनअनुसार वाणिज्य बैंकहरूका लागि आर्थिक वर्ष २०८३/८४ का लागि प्रतिचक्रीय पूँजी बफर शून्य प्रतिशत रहनेछ।
केन्द्रीय बैंकको नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमा सूचीकृत संस्थाको सेयर तथा ऋणपत्रमा लगानी गर्दा यसअघि कायम रहेको ६ महिनाको न्यूनतम अवधिलाई घटाएर कम्तीमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउने नियम बनाइएको छ। यो व्यवस्थासँगै अब बैंकहरूले कुनै पनि अप्रत्यक्ष प्रबन्धमार्फत अल्पकालीन रूपमा सेयरमा लगानी गर्न पाउने छैनन्।
नयाँ निर्देशनमा बैंकहरूले सरकारी सुरक्षणपत्र, ऋणपत्र तथा सेयरमा लगानी गर्दा सट्टाबाजी जोखिम (Speculative Risk) न्यूनीकरण हुने गरी स्पष्ट नीति तथा कार्यविधि अनिवार्य रूपमा सञ्चालक समितिबाट स्वीकृत गराउनुपर्ने प्रावधान राखिएको छ। उक्त नीतिमा लगानीको रणनीति, बैंकिङ र व्यापारिक खाता वर्गीकरण, स्वार्थको द्वन्द्व व्यवस्थापन, स्वीकृत अख्तियारी, सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO) को जिम्मेवारी, घाटा रोक्ने सीमा (Stop Loss Limits) र दैनिक बजार मूल्य मूल्यांकन (Mark to Market) जस्ता जोखिम व्यवस्थापनका विषयहरू समेट्नुपर्नेछ।
यसका साथै, बैंकहरूले आफ्नो स्वीकृत लगानी नीति तथा कार्यविधि एवं मासिक रूपमा तयार हुने ‘बैंकिङ खाता’ र ‘व्यापारिक खाता’ को विस्तृत विवरण राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।



