RE
Global College

वर्षाले पृथ्वी र बीपी राजमार्गसहित दर्जन सडक अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षा, पहिरो तथा खोलामा पानीको बहाव बढेपछि देशभरका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विभिन्न राजमार्गका दर्जनौँ स्थानमा सडक अवरुद्ध भएका छन्।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जवाङ खोला र फिस्लिङलगायतका स्थानमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। निरन्तर वर्षाका कारण स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालनमा रोक लगाएको छ। सडक विभागले भने अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा पहिरो पन्छाउने काम सुरु गरेको जनाएको छ।

त्यस्तै, बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेंसी, कटुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध भएको छ। पहिरोसँगै डाइभर्सनसमेत बगेपछि राजमार्ग सञ्चालनमा ल्याउन प्रयास भइरहेको विभागले जनाएको छ।

कर्णाली राजमार्गको गगने खोला तथा नाग्म–जुम्लाको राँका क्षेत्रलगायतका स्थानमा पहिरो र ढुंगा खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ। सडक खुलाउन लोडरसहितका टोली परिचालन गरिएको छ।

सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगा–सल्लेरी सडकखण्डको सोलु खोला नजिक सडक भासिएपछि यातायात ठप्प भएको छ। थप वर्षा नभए आज बेलुकीसम्म मेसिन प्रयोग गरी ‘ब्याक कटिङ’ गरेर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

कान्ति राजमार्ग भने आंशिक रूपमा सञ्चालनमा आएको छ। मकवानपुर खण्डमा पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइए पनि ललितपुरको चपली र तकुर्चेलगायतका स्थानमा काम जारी छ। ती स्थानको काम पूरा भएपछि बिहान १० बजेपछि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अनुमान गरिएको विभागले जनाएको छ।

मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर खण्डमा लेदोसहितको पहिरो खस्ने क्रम जारी छ। कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा पनि ठूलो पहिरो गएको छ। दुवै स्थानमा पहिरो हटाउन मेसिन तयारी अवस्थामा राखिएको छ।

तमोर करिडोरको छरुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको छ। पानीको बहाव घटेपछि सडक खुलाउने तयारी गरिएको छ।

यसैगरी, राप्ती राजमार्गको कपुरकोट तथा बागलुङ–बेनी सडकको हुलाके क्षेत्रमा पहिरो पन्छाउन मेसिन परिचालन गरिएको छ। भालुवाङ–चकचके–लिवाङ सडकमा पनि पहिरो हटाउने काम भइरहेको छ भने साना सवारी साधन सावधानीपूर्वक सञ्चालन भइरहेका छन्।

वर्षा र पहिरोका कारण सडकको अवस्था जोखिमपूर्ण रहेकाले सडक विभागले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। विभागले सडक अवरोधसम्बन्धी थप तथा ताजा विवरण आफ्नो आधिकारिक माध्यमबाट सार्वजनिक गरिरहेको जनाएको छ।

Leave Your Comment

Related News