काठमाडौं । पछिल्लो वर्षाका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडकको मर्मत कार्य थालिएको छ।
गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी–दरवाङ–मुना सडकका विभिन्न स्थानमा पहिरो र बाढीले क्षति पुर्याएपछि यातायात अवरुद्ध बनेको थियो।
सोमबार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेतका साथै मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका विभिन्न खण्डमा उपलब्ध उपकरणहरू परिचालन गरी सडक मर्मतलाई तीव्र पारिएको सांसद जुग्जालीले बताएका छन्। स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ-आफ्ना मातहत रहेका सडकहरू मर्मत गरेर जति सक्दो छिटो यातायात सञ्चालन गर्ने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार समन्वय भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिएका छन्।
यसैबिच चीनसँगको मुख्य व्यापारिक नाका कोरला जोड्ने बेनी–जोमसोम–कोरला सडक खण्डको तिल्केनीचौर र खामभित्तामा कालिगण्डकी नदीले कटान गरेको छ भने पोखरेबगरमा सडक पुलको पहुँचमार्गमा क्षति पुगेको छ। सङ्घीय सरकार मातहतको सडक विभागसँग समन्वय गरी मर्मत अघि बढाउने तयारी भइरहेको प्रजिअ गैरेले बताए।
बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध हुँदा हिमाली जिल्ला मुस्ताङको यातायात सम्पर्कविच्छेद भएको छ। सडक बन्द भएपछि कोरला नाकाबाट हुने आयात-निर्यातका साथै मुस्ताङबाट स्थानीय स्याउ र च्याङ्ग्रा बिक्रीका लागि बजार पठाउन समस्या उत्पन्न भएको छ। सोह्र श्राद्धको अवसरमा कागबेनीमा पितृ तर्पण दिन जाने श्रद्धालु तथा पर्यटकीय याममा जाने भ्रमणार्थीहरू समेत सडक अवरोधका कारण प्रभावित भएका छन्।





