काठमाडौं । जिल्ला बागलुङ, तमानखोला, निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिका लगायतका क्षेत्रमा असोज १० र ११ गते परेको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा बागलुङ जिल्लाका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पहिरोमा परी तमानखोला गाउँपालिका -०४, सन्तरकी ६५ वर्षीया उदिसरा विक र ५० वर्षीय हस्तवीर विकको मृत्यु भएको छ । सोही घटनामा ५२ वर्षीया पुनसरा विक बेपत्ता रहेकी हुँन् । यस्तै, तमानखोला गाउँपालिका -०३, धनारकुकका ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ ।
निसीखोला गाउँपालिका -०६, सेलवाङका ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि पहिरोमा परी मृत्यु भएको छ । यसैगरी, निसीखोला गाउँपालिका -०३, कन्केखरियामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, १३ वर्षीय मनोज विक, ८ वर्षीय मुकेश विक र ३ वर्षीय निशान विक रहेका छन् । त्यस्तै, ताराखोला गाउँपालिका -०५, धरर्मरका ५९ वर्षीय मनबहादुर रोक्काको पनि पहिरोमा परी मृत्यु भएको छ । यसरी अविरल वर्षासँगै आएको पहिरोका कारण बागलुङमा हालसम्म १० जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् । विभिन्न स्थानमा घर तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ । विभिन्न निकायहरुसँगको समन्वयमा प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ भने घटनाबारे थप विवरण संकलन तथा अनुसन्धान भइरहेको छ ।





