काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेको रिपोर्ट सार्वजनिक भएको छ।
सीएनएनले भ्रमणबारे जानकार एक इजरायली स्रोतलाई उद्धृत गर्दै नेतान्याहूले अबुधाबी पुगेर यूएईका राष्ट्रपतिसँग भेट गरेको जनाएको हो। स्रोतका अनुसार दुई नेताबीचको छलफलमा इरानसँग सम्बन्धित क्षेत्रीय सुरक्षा चिन्ता मुख्य विषय बनेको थियो।
यसअघि पनि नेतान्याहूले यसै वर्ष यूएईको कथित गोप्य भ्रमण गरेका थिए। त्यतिबेला नेतान्याहूको कार्यालयले यूएईका राष्ट्रपतिसँग भेटवार्ता भएको दाबी गरे पनि यूएईको विदेश मन्त्रालयले घोषणा नगरिएका भ्रमण वा गोप्य व्यवस्थासम्बन्धी दाबीलाई आधारहीन भनेको थियो।
यसपटकको भ्रमण त्यतिबेला भएको छ, जतिबेला इजरायल र इरानबिचको तनाव तथा क्षेत्रीय सुरक्षा अवस्थालाई लिएर पश्चिम एसियामा चासो बढेको छ। नेतान्याहूले हालै संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै इरानको नेतृत्वविरुद्ध कडा धारणा राखेका थिए।
महासभालाई सम्बोधन गर्दै नेतान्याहूले इरानको वर्तमान शासन आफ्नै ‘झूट, भ्रष्टाचार र क्रूरता’का कारण ढल्ने दाबी गरेका थिए। उनले इरानी जनता एक दिन सरकारविरुद्ध उठ्ने पनि बताएका थिए।
इरानका राष्ट्रपति मसूद पेजेस्कियानले भने यूएईसहित क्षेत्रका अन्य मुलुकसँग तेहरानको कुनै समस्या नरहेको बताउँदै आएका छन्। उनका अनुसार इरानको आपत्ति खाडी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डासँग हो, जसलाई इरानमाथि आक्रमणका लागि प्रयोग गरिएको उनको आरोप छ।
यसैबीच, नेतान्याहूको पछिल्लो यूएई भ्रमणलाई लिएर इजरायलमा सन् २०२३ को अक्टोबर ७ को हमास आक्रमणअघि यूएईका राष्ट्रपतिले सम्भावित ठूलो आक्रमणबारे चेतावनी दिएको भन्ने पछिल्ला रिपोर्टसँग जोडेर पनि चर्चा भइरहेको छ। नेतान्याहूको कार्यालयले भने आफूलाई त्यस्तो चेतावनी प्राप्त भएको दाबी अस्वीकार गर्दै आएको छ।



