RE
Global College

सर्वोच्चबाट धरौटीमा छुटेका व्यवसायी शंकरलाल अग्रवाल विशेष अदालतको आदेशपछि पुनः थुनामा

काठमाडौं । व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा न्यायाधीशद्वय हेमन्त रावल र विदूर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण मुद्दामा अग्रवाललाई थुनामा पठाउने आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अग्रवाल अदालतमा उपस्थित भई दिएको निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतले उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

यसअघि बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अग्रवाललाई भदौ ३१ गते सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले उच्च अदालत पाटनको थुनामा राख्ने आदेश बदर गर्दै १० लाख रुपैयाँ धरौटी लिएर तारिखमा राख्न आदेश दिएको थियो ।

‘बेरितको आदेश बदर गरिपाऊँ’ भन्ने निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम अग्रवालबाट १० लाख रुपैयाँ धरौटी लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । यसअघि उच्च अदालत पाटनले २०८३ साउन ७ गते थुनछेक आदेश जारी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम अग्रवाललाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

हेर्नुहोस्, यस्तो थियो सर्वोच्चको आदेश:

 

 

Leave Your Comment

Related News