RE
Global College

बीमा दाबीमा पारदर्शिता ल्याउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ सञ्चालनमा

काठमाडौं । सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ । नेपाल बीमा प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि यसको परीक्षण गरिसकेको छ सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने उद्देश्यले उक्त प्रणाली विकास गरिएको हो ।

नयाँ स्वचालित प्रणालीका सम्बन्धमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका आइटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइँदैछ । त्यसपछि सर्भेयरलाई पनि स्वचालित प्रणालीसम्बन्धी तालिम दिइनेछ । त्यसैगरी यस प्रणालीमा पुनरबीमा कम्पनीलाई पनि समेट्ने योजना छ ।

सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा सर्भेयर छनोटलाई पारदर्शी बनाउने उद्देश्यले उक्त प्रणालीको विकास गरिएको हो । हाल सर्भेयर छनोट गर्दा वैज्ञानिक र पारदर्शी नहुने, एउटै सर्भेयरले बढी र कम काम पाउनेलगायतका गुनासो आउने गरेको सन्दर्भमा यो प्रणालीको विकासले महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था भए पनि उनीहरूले पाएको कामको प्रभावकारी तथ्यांक राख्न कठिन भइरहेको अवस्था छ । हाल यस प्रणालीमा ८८ जना संस्थागत र बाँकी व्यक्तिगत गरी ६८० सर्भेयरको तथ्यांक प्रविष्ट भइसकेको छ ।

त्यसैगरी बीमा कम्पनीले आफ्नो रोजाइका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत आउने गरेको छ । यही अवस्थालाई सुधार गर्दै सर्भेयर खटाउने प्रक्रियामा पारदर्शिता, समान अवसर र जवाफदेहिता कायम गर्ने उद्देश्यले प्राधिकरणले स्वचालित प्रणाली विकास अघि बढाएको हो ।

हाल नयाँ प्रणालीमा सबै सर्भेयरको प्रोफाइल तयार गरी उनीहरूको विशेषज्ञता, वरिष्ठता, उपलब्धता, भौगोलिक स्थान, पोर्टफोलियो तथा यसअघि पाएको कामलगायतका विवरण राख्ने काम पूरा भइसकेको छ । कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि सम्बन्धित ‘केस’का लागि कुन सर्भेयर उपयुक्त हुन्छ भन्ने निर्णय प्रणालीले तोकिएका मापदण्डका आधारमा गर्नेछ ।

उदाहरणका लागि कुनै सवारी दुर्घटनासम्बन्धी दाबी आएमा उक्त विषयमा विज्ञता भएको, सम्बन्धित स्थानमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता भएको र तत्काल काम लिन सक्ने सर्भेयरमध्ये प्रणालीले उपयुक्त सर्भेयर छनोट गर्नेछ । यसबाट बीमा कम्पनीका अधिकारीले प्रत्येक पटक म्यानुअल्ली सर्भेयर छनोट गर्नुपर्ने अवस्था घट्नेछ र सर्भेयर खटाउने प्रक्रिया स्वचालित बन्नेछ ।

प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, बीमा सर्भेयर, क्लेम प्रमुख तथा आईटी प्रमुखलगायत विभिन्न सरोकारवालासँग छलफल गरी सुझाव लिइएको थियो । त्यसपछि सर्भेयर छनोटका आधार र प्यारामिटर तयार गरी सफ्टवेयर विकासको काम अघि बढाइएको हो ।

अहिले प्रणालीमा बीमा कम्पनीहरूले आफ्ना सर्भेयरसम्बन्धी विवरण प्राधिकरणलाई उपलब्ध गराइरहेका छन् । प्रणाली सञ्चालनमा आएपछि केही समय यसको कार्यक्षमता र स्थिरतालाई नजिकबाट निगरानी गरिनेछ । प्राधिकरणले फायरवाल, भिएपिटीपीलगायतका सुरक्षा परीक्षण गरिने जनाएको छ ।

नयाँ प्रणालीले तोकिएका मापदण्डका आधारमा स्वचालित रूपमा सर्भेयर छनोट गर्नेछ । यसले एउटै सर्भेयरलाई पटक–पटक काम दिने वा अरू सर्भेयरलाई पर्याप्त अवसर नदिने अवस्थालाई पहिचान गर्न र नियन्त्रण गर्न सहयोग पुग्नेछ । सर्भेयरले कति काम पाएको छ, कुन काम सम्पन्न गरेको छ र नयाँ काम लिन सक्ने अवस्थामा छ कि छैन भन्ने विवरण पनि प्रणालीबाट ट्रयाक गर्न सकिनेछ ।

यस प्रणालीले बीमा दाबीको प्रक्रियामा समय र लागतसमेत घटाउनेछ । अहिले कतिपय अवस्थामा सर्भेयर छनोटमा देखएको समस्या, पुनः मूल्याङ्कन गर्नुपर्ने, दाबी प्रक्रियामा ढिलाइ हुने वा ग्राहकसँग विवादसँग सम्बन्धित समस्या समाधानमा थप सहज हुनेछ ।

प्रणालीले घटनाअनुसार उपयुक्त सर्भेयर छनोट गर्ने भएकाले यस्ता समस्या कम हुने र समय तथा लागत बचत हुनेछ । साथै कुन सर्भेयर कुन आधारमा छनोट भयो भन्ने विवरण प्रणालीमा रहने भएकाले निर्णय प्रक्रियाको पारदर्शिता र जवाफदेहिता बढ्नेछ ।
प्रणालीको विकासले दीर्घकालमा सर्भेयससम्बन्धी ठूलो परिमाणमा तथ्यांक सङ्कलन गरिनेछ । यसबाट यससम्बन्धी नीति निर्माण गर्न सहयोग पुग्नेछ । साथै सर्भेयरले दिने सेवा प्रवाह र सेवाग्राहीले के कस्तो सेवा पाए भन्ने पनि अध्ययन गर्न सकिनेछ ।

Leave Your Comment

Related News