RE
Global College

कुलमान घिसिङले लोडसेडिङको चिन्ता गर्दै भने-लोडसेडिङ नहुन आजैदेखि आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ

काठमाडौं ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी हुँदै भदौ १० गते आएको त्रिशूली बाढीपछि त्यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अध्यक्ष घिसिङले बाढीले विद्युत्, सडक लगायतका अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले अहिलेको सङ्कट मात्र होइन, आगामी दिनको ऊर्जा सुरक्षा र लोडसेडिङ नहोस् भनेर आजैदेखि आवश्यक पूर्वतयारी र आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्ने बताएका हुन् ।

‘विशेष गरी त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरू, विद्युत् प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षति अत्यन्त गम्भीर छ’, घिसिङले भनेका छन्, ‘त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्ले यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ ।’

जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता हुँदा स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबलमा समेत प्रतिकूल असर पार्ने अवस्था सिर्जना गरेको घिसिङको भनाइ छ ।

उनले अकल्पनीय विपतमा आफ्नो थातथलो र सम्पत्ति गुमाउने अवस्थामा पुगेका नागरिकका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सरकारको तत्परता अझ प्रभावकारी र देखिने गरी आउन आवश्यक रहेको जनाएका छन् ।

‘विस्थापित नागरिकलाई जाडोको कठ्याङ्ग्रिँदो मौसममा असुरक्षित र कष्टपूर्ण अवस्थामा राखेर राज्य आफ्नो दायित्वबाट पन्छिन मिल्दैन’, सरकारकारलाई खबरदारी र प्रश्न गर्दै उनले जाडो नजिकिँदै गर्दा विस्थापित नागरिकलाई सुरक्षित आवास, राहत र पुनर्स्थापनाको ठोस व्यवस्था गर्न किन ढिलाइ गरिँदैछ ? भनेका छन् ।

‘क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण मात्र पर्याप्त छैन । लगानीकर्ताको विश्वास कायम राख्ने, क्षतिग्रस्त आयोजना पुनः सञ्चालनमा ल्याउने र भविष्यमा यस्ता विपद्बाट पूर्वाधारलाई सुरक्षित बनाउने दीर्घकालीन रणनीति तत्काल आवश्यक छ’, घिसिङले भनेका छन्, ‘त्रिशूली र कालीगण्डकी करिडोरका प्रसारण लाइनमा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमै दबाब सिर्जना गरेको छ ।’

साथै उनले आगामी हिउँदमा विद्युतको माग व्यवस्थापन चुनौतीपूर्ण हुनसक्ने अवस्थामा तत्काल पुनर्स्थापना गर्न सकिने प्रसारण संरचनाको पहिचान र निर्माणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

‘लोडसेडिङ हुँदैन’ भन्ने घोषणा मात्र पर्याप्त हुँदैन । लोडसेडिङ नहोस् भनेर आजैदेखि आवश्यक पूर्वतयारी, वैकल्पिक प्रसारण व्यवस्था र आपूर्ति व्यवस्थापनको ठोस काम सुरु गर्नुपर्छ’, घिसिङको सुझाव छ ।

सङ्कटको समयमा स–साना विषयमा अल्झिने होइन, देशको ऊर्जा सुरक्षा, प्रभावित नागरिकको जीवन र क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले प्राकृतिक विपद् रोक्न नसकिए पनि विपद्पछिको राज्यको प्रतिक्रिया, राहत, पुनर्स्थापना र पुनर्निर्माण प्रभावकारी बनाउन सकिने विषय रहेकाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

Leave Your Comment

Related News