काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा नाकामा नेपाल र छिमेकी मुलुक चीनको भन्सारसँग जोडिएका धेरै संरचना क्षतिग्रस्त बनाउँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
दुवैतर्फको सीमावर्ती क्षेत्रमा अत्यधिक क्षति भएकाले नेपाल र चीन जोड्ने ‘लाइफलाइन’ का रूपमा चिनिएको रसुवा नाका तत्काल सञ्चालनमा आउने सम्भावना निकै कम छ। यसका कारण दुवै मुलुकका नागरिकको आवतजावत मात्र नभई वैदेशिक व्यापार समेत ठप्प भएको छ।
बाढीले दुवैतर्फका सडक, पुल तथा भन्सार प्रशासनसँग जोडिएका महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्याएकाले नाका तत्काल पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन भौगोलिक र व्यावहारिक दुवै दृष्टिले चुनौतीपूर्ण देखिएको छ। अर्कोतर्फ, भोटेकोशीमा आएको बाढीसँगै तातोपानी नाका पनि केही समयदेखि अवरुद्ध हुँदै आएको छ।छिमेकी मुलुक चीनसँग सडक मार्गबाट जोडिएका रसुवा र तातोपानी नाका मात्र अवरुद्ध भएका छैनन्। यसअघि सञ्चालन हुँदै आएको मुस्ताङको कोरला नाका पनि यही असोज ८ देखि ११ गतेसम्म लगातार आएको बाढीपहिरोका कारण विभिन्न स्थानमा सडक तथा पुललगायतका संरचनामा क्षति पुगेपछि अहिले ठप्प छ।
नेपालीका चाडपर्व दसैं, तिहार र छठ घरआँगनमा आइपुग्नै लाग्दा चीनसँग जोडिएका तीन वटै प्रमुख नाका अवरुद्ध हुँदा एकातर्फ दुवै मुलुकबीच हुने वैदेशिक व्यापार प्रभावित भएको छ भने अर्कोतर्फ चाडपर्व लक्षित गरी चीनबाट ल्याउन लागिएका सामान समेत उतै रोकिएका छन्।
नेपाल हिमालयन सीमापार वाणिज्य संघका पूर्व अध्यक्ष अशोक श्रेष्ठले चीनसँग जोडिएका तीन वटै मुख्य नाका ठप्प हुँदा दुवै मुलुकबीच हुने आयात–निर्यात प्रभावित भएको बताए। “यही भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा नाकाको तहसनहस नै बनायो। जसका कारण सो नाका कहिले सञ्चालनमा आउने भन्ने टुङ्गो छैन”, उनले भने, “भोटेकोशीमा बाढी आएको केही समयमै चिनियाँ पक्षले तातोपानी नाकाबाट पनि आयात–निर्यात ठप्प पारेपछि चीनसँगका मुख्य नाका पूरै ठप्प जस्तै छन्।”
उनले चाडपर्वलाई लक्षित गरेर चीनबाट ल्याउन लागिएका वस्तु तथा सामान उतै रोकिँदा व्यवसायी तथा व्यापारी चर्को मारमा परेको बताए। “व्यापारीले ऋणधन गरेर चीनबाट आयात गरेका वस्तु तथा सामान चिनियाँ भूमिमै रोकिएका छन्। यसले व्यापारीको ऋणको भार बढेको छ भने अर्कोतर्फ सामान कहिले आउने भन्ने अनिश्चितता कायमै छ”, उनले भने, “सरकारले चीन सरकारसँग कूटनीतिक पहल गरेर तत्काल तातोपानी नाका खुलाउने प्रयास गर्न जरुरी भइसकेको छ।”
रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि पछिल्लो समय मुस्ताङको कोरला नाका हुँदै चीनबाट वस्तु तथा सामान आयात–निर्यात हुँदै आएको थियो। तर, यही असोज ८ देखि ११ गतेसम्म परेको लगातारको वर्षाका कारण कालीगण्डकी करिडोर आसपासका सडक तथा पुललगायतका संरचनामा क्षति पुगेपछि अहिले कोरला नाकाबाट हुने वैदेशिक व्यापार पनि रोकिएको छ।
नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका मुख्य ‘लाइफलाइन’ का रूपमा चिनिने रसुवा, तातोपानी र कोरला नाका अवरुद्ध हुँदा चीनसँगको वैदेशिक व्यापार चौपट भएको बताए। “अहिले चीनसँग जोडिएका मुख्य सडक मार्गको पहुँच नै टुटेको छ”, उनले भने, “भोटेकोशीमा बाढीपहिरो आएपछि रसुवा र तातोपानी नाकाबाट कोरला नाकातर्फ ल्याउन खोजिएका करिब ७०० भन्दा बढी कन्टेनर सडक अवरुद्ध हुँदा चीनतर्फ रोकिएका छन्।”
संघका महासचिव पराजुलीले चीनबाट आयात गरी ल्याउन लागिएका करिब पाँच अर्ब मूल्य बराबरका वस्तु तथा सामान चिनियाँ नाकामै रोकिएको दाबी गरे। “नेपाल सरकारले चीन सरकारसँग पर्याप्त कूटनीतिक पहल गरेर तातोपानी नाका खुलाउने प्रयास गर्नुपर्ने बेला भइसकेको छ। जति ढिलो भयो, त्यति नै ठूलो असर पर्नेछ”, उनले भने, “कोरला नाकातर्फ पनि विभिन्न स्थानमा सडक र पुललगायतका संरचनामा क्षति पुगेकाले सरकारले तत्काल सडक तथा पुल मर्मत सम्भार गरी सञ्चालन गर्न आवश्यक छ।”
यस्तो छ मुख्य नाकाको वैदेशिक व्यापार
भन्सार विभागका अनुसार आव २०८२/८३ मा रसुवा भन्सार नाका हुँदै ४५ अर्ब ७३ करोड ८२ लाख ६४ हजार मूल्य बराबरका वस्तु तथा सामान आयात भएको थियो। सो आवमा कुल आयातमा यो भन्सारको हिस्सा २ दशमलव १८ प्रतिशत थियो। त्यस्तै, सोही आवमा रसुवा भन्सार हुँदै ८९ करोड ४६ लाख १ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएको थियो।
आव २०८१/८२ मा रसुवा भन्सार हुँदै ८५ अर्ब २३ करोड २३ लाख ६० हजार मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका थिए। सो आवमा कुल आयातमा उक्त भन्सार नाकाको हिस्सा ४ दशमलव ७२ प्रतिशत थियो। त्यस्तै, यो नाका हुँदै सो आवमा दुई अर्ब ४ करोड ५२ लाख ६१ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएको थियो।
रसुवा नाका मात्र नभई चीनसँग सडक मार्गबाट जोडिएको तातोपानी भन्सार नाकाबाट पनि आयात–निर्यात हुँदै आएको छ। भन्सार विभागका अनुसार आव २०८२/८३ मा तातोपानी नाका हुँदै ४७ अर्ब ४८ करोड ६१ लाख १८ हजार मूल्य बराबरका वस्तु तथा सामान नेपाल भित्रिएका छन्। नेपालभर हुने कुल आयातमा यो नाकाको हिस्सा २ दशमलव २७ प्रतिशत छ। सो आवमा यो नाका हुँदै हुने निर्यात भने नगण्य रहेको छ।
त्यसैगरी, आव २०८१/८२ मा यो नाकाबाट ५० अर्ब ३९ करोड ५८ लाख ६२ हजार मूल्य बराबरका वस्तु तथा सामान आयात भएको थियो। उक्त आवमा कुल आयातमा यो नाकाको हिस्सा २ दशमलव ७९ प्रतिशत थियो। त्यस्तै, यो नाका हुँदै हुने निर्यात भने शून्य जस्तै थियो।
आव २०८२/८३ मा मुस्ताङ नाका हुँदै १४ अर्ब ४० करोड ६७ लाख २८ हजार मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन्। कुल आयातमा यो नाकाको हिस्सा शून्य दशमलव ६९ प्रतिशत छ। सो आवमा यो नाका हुँदै २० करोड ५५ लाख ७५ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएको छ। निर्यातमा यो नाकाको हिस्सा भने शून्य दशमलव ०७ प्रतिशत मात्रै छ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालले यही असोज ९ गते नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङसँग भेटघाट गर्दै रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा विकास र रसुवागढी–केरुङ नाका पुनः सञ्चालनलगायत विषयमा चीन सरकारका तर्फबाट आवश्यक सहयोग गर्न अनुरोध गरेका छन्।
मन्त्री लम्सालले तातोपानी र कोरला नाकालगायतका नाका जतिसक्दो छिटो सञ्चालनका लागि आवश्यक पहल गरिदिन चिनियाँ पक्षसँग अनुरोध गरेका छन्। उनले करिब छ लाख ५० हजारभन्दा बढी नेपाली नागरिकसँग जोडिएको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि आवश्यक समन्वय गर्न पनि आग्रह गरेका छन्।
मन्त्री लम्सालले करिब छ लाख नेपाली नागरिकको राज्यसँगको सम्पर्क तथा सहज आवतजावत र कोरला तथा तातोपानी नाकाको प्रभावकारी सञ्चालनलगायत विषयमा चीन सरकारबाट आवश्यक समन्वय गर्न आह्वान गरेका छन्।
चिनियाँ राजदूत वाङ माओमिङले नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका लागि विशेष अध्ययन गरी दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माण गर्न सकिने बताए। राजदूत वाङले कोरला र तातोपानी नाका सञ्चालनका लागि चीन सरकार सकारात्मक रहेको जानकारी दिँदै रसुवागढी नाकाको पुनर्निर्माण तथा सञ्चालनका सम्बन्धमा नेपाल सरकारले विशेष प्रस्ताव पठाएमा आवश्यक समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।



