काठमाडौं । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन । बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई क्रेनमार्फत पल्टाइए पनि नदीबाट बाहिर निकाल्न नसकिएको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिए ।
केही समयअघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ सहज नभएपछि नवलपरासीको गैँडाकोट लगेर सञ्चालन गरिएको थियो । अध्यक्ष ढुङ्गेलका अनुसार गत असारदेखि गैँडाकोटस्थित होटल रिभर क्राउनले उक्त क्रुज खरिद गरी नजिकै नदी किनारमा सञ्चालन गरिरहेको थियो ।
उक्त क्रुज सञ्चालन राष्ट्रिय गौरवको आयोजना भएकाले पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यक पर्ने सञ्चालकको भनाइ छ । कम्पनीले १५० जना यात्रुलाई देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको थियो ।
करिब ९५ फिट लामो र २१ फिट चौडा रहेको साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सक्ने व्यवस्था थियो ।
क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेज तथा विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था थियो । खासगरी चितवनको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले परियोजनाका रूपमा क्रुज सञ्चालनमा ल्याइएको हो ।



