काठमाडौं । सन् २०२६ को सेप्टेम्बर महिनामा कुल ८८ हजार २४८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको विवरण अनुसार यो आगमन अघिल्लो वर्ष सन् २०२५को सेप्टेम्बरको तुलनामा १२.११ प्रतिशतले बढी हो। गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए।
मनसुन समाप्त भई पर्यटकीय याम अटोमन सिजन सुरु भएसँगै विदेशी पर्यटकको आगमनमा उत्साहजनक वृद्धि देखिएको हो। खासगरी दक्षिण एसियाली र अन्य एसियाली मुलुकहरूबाट पर्यटकको आगमन बढ्दा समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको छ।
सार्क र एसियाली मुलुकबाट आकर्षण बढ्दा युरोप-अमेरिकाबाट गिरावट
क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकहरूले ओगटेका छन्। सार्क क्षेत्रबाट ३० हजार ८५ जना पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा २३.८८ प्रतिशतले बढी हो।
यसैगरी, सार्कबाहेकका अन्य एसियाली मुलुकहरूबाट १९ हजार ८८८ जना पर्यटक भित्रिएका छन्। यो अघिल्लो वर्षको तुलनामा ५७.९७ प्रतिशतको उल्लेख्य वृद्धि हो।
युरोपेली महादेशबाट १५ हजार १४८ जना र अमेरिकी महादेशबाट १० हजार १०७ जना पर्यटक नेपाल आएका छन्। यद्यपि, अघिल्लो वर्षको सोही अवधिको तुलनामा युरोप र अमेरिकाबाट हुने आगमनमा क्रमशः ८.७३ प्रतिशत र १२.२९ प्रतिशतले गिरावट आएको छ। यसबाहेक ओसिएनिया क्षेत्रबाट ५ हजार ४२२ जना र मध्यपूर्वी देशहरूबाट २ हजार ६०६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

पर्यटक आगमनमा भारत पहिलो, चीनबाट ११४ प्रतिशतको भारी वृद्धि
मुलुकका आधारमा हेर्दा छिमेकी राष्ट्र भारतबाट सबैभन्दा बढी पर्यटक आएका छन्। भारतबाट सेप्टेम्बर महिनामा १७ हजार ४२५ जना पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्ष (१५ हजार ५५७ जना) को तुलनामा १२.०१ प्रतिशतको वृद्धि हो।
दोस्रो स्थानमा रहेको चीनबाट हुने पर्यटक आगमनमा भारी वृद्धि भएको छ। चीनबाट ११ हजार २१२ जना पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको ५ हजार २३७ जनाको तुलनामा ११४.०९ प्रतिशतले बढी हो।
तेस्रो स्थानमा रहेको अमेरिकाबाट ८ हजार २९९ जना, चौथो स्थानमा रहेको श्रीलङ्काबाट ५३.९९ प्रतिशतको वृद्धिसहित ७ हजार १०८ जना र पाँचौँ स्थानमा रहेको अस्ट्रेलियाबाट ४ हजार ८४२ जना पर्यटक नेपाल आएका छन्।
यसैगरी, बङ्गलादेशबाट ३ हजार ९६४, बेलायतबाट ३ हजार ७२५, जापानबाट २ हजार ६६, जर्मनीबाट १ हजार ९७४, र इजरायलबाट १ हजार ९५७ जना पर्यटकले नेपालको भ्रमण गरेका छन्।




