काठमाडौं । बीवाईडी को आधिकारिक डिलर इको ड्राइभ अटोमोबाइल्स प्रालिको व्यापार पछिल्लो आर्थिक वर्षमा केही बढे पनि कम्पनीको नाफा कमाउने क्षमता भने निरन्तर कमजोर बन्दै गएको छ। बिक्री संख्या बढे पनि आम्दानीको तुलनामा सञ्चालन नाफा झन् साँघुरिँदै गएपछि कम्पनीमाथि तीव्र प्रतिस्पर्धा, मूल्य दबाब, महँगो कार्यशील पुँजी र बढ्दो वित्तीय जोखिमको चाप परेको देखिन्छ। कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ मा ९७ करोड ४० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा ८ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। तर, यो वृद्धि उत्साहजनक वित्तीय परिणाममा परिणत हुन सकेको छैन। यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ रहेको थियो, जसको तुलनामा पछिल्ला दुई आर्थिक वर्षको कारोबार उल्लेख्य रूपमा कमजोर देखिन्छ।
नेपालमा विद्युतीय सवारीसाधनको माग र बजार विस्तार भइरहेको अवस्थामा समेत कम्पनीले आफ्नो कारोबारलाई अघिल्लो उच्च तहमा कायम राख्न सकेको छैन। पछिल्लो समय बीवाईडीका ब्रान्डमा भइरहेका आगलागी र दुर्घटनाजस्ता कारणले ग्राहकमा ब्रान्डप्रति सिर्जना भएको शंकाको धक्का डिलरसम्म पुग्न थालेको छ। बिक्री संख्यातर्फ हेर्दा, आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले २६८ वटा सवारीसाधन बिक्री गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको २२२ वटाको तुलनामा ४६ वटाले बढी हो। तर, बिक्री संख्यामा सुधार आए पनि त्यसको प्रत्यक्ष लाभ नाफामा देखिएको छैन; बरु कारोबार विस्तारसँगै सञ्चालन नाफा मार्जिन लगातार खुम्चिएको छ।
कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अन्य समायोजनअघिको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०८०/८१ मा ३.०३ प्रतिशत रहेकोमा घटेर आर्थिक वर्ष २०८१/८२ मा १.७३ प्रतिशतमा झरेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा अझै खुम्चिएर केवल ०.८० प्रतिशतमा सीमित भएको छ। केयर रेटिङ्स नेपालका अनुसार विद्युतीय तथा परम्परागत दुवै सवारीसाधन बजारमा तीव्र प्रतिस्पर्धा र मूल्य होडबाजी बढ्नु कमजोर नाफा मार्जिनको प्रमुख कारण हो। बजारमा नयाँ-नयाँ विद्युतीय सवारी ब्रान्ड प्रवेश गरेसँगै बजार हिस्सा जोगाउन मूल्यमा परेको दबाबको प्रत्यक्ष असर डिलरको नाफामा परेको देखिन्छ।
सन् २०२१ अक्टोबर १९ मा स्थापना भएको र अध्यक्ष प्रकाशवीर सिंह तुलाधर रहेको यस निजी कम्पनीले बीवाईडीको नेपालका लागि एक मात्र आधिकारिक राष्ट्रिय वितरक साइमेक्स इन्क प्रालिसँगको डिलर सम्झौताअन्तर्गत ललितपुर र धादिङ जिल्लाको बिक्री क्षेत्रमा बीवाईडीका विद्युतीय यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन बिक्री-वितरण गर्दै आएको छ। डिलरका रूपमा काम गर्दा कम्पनीले ठूलो कार्यशील पुँजीको चुनौती सामना गरिरहेको छ, जहाँ सवारीसाधन पूर्ण रूपमा आयातमा निर्भर हुने भएकाले अग्रिम भुक्तानी वा घरेलु प्रतीतपत्रमार्फत रकम व्यवस्थापन गर्नुपर्ने बाध्यता छ। यसका साथै शोरूममा प्रदर्शनका लागि राख्नुपर्ने र ग्राहकको माग पूरा गर्न अतिरिक्त मौज्दात (इन्भेन्टरी) कायम राख्नुपर्ने भएकाले कम्पनीको ठूलो रकम व्यापारमै अड्किने गरेको छ।
कम्पनीले ९० करोड रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधाका लागि ‘केयर–एनपी ए फोर’ (CARE-NP A4) रेटिङ पाएको भए तापनि यसको वित्तीय सूचकले ऋणमा बढ्दो निर्भरता र त्यसको लागत चिन्ताजनक बन्दै गएको संकेत गर्छ। कम्पनीको समग्र ऋण अनुपात आर्थिक वर्ष २०८१/८२ मा १.०६ गुणा रहेकोमा बढेर आर्थिक वर्ष २०८२/८३ मा १.६६ गुणा पुगेको छ, जसले वित्तीय भार बढेको देखाउँछ। त्यस्तै, कम्पनीको चालु अनुपात (Current Ratio) आर्थिक वर्ष २०८०/८१ को १.१० गुणाबाट आर्थिक वर्ष २०८१/८२ मा १.१९ गुणा पुगेकोमा आर्थिक वर्ष २०८२/८३ मा केही घटेर १.१६ गुणामा आएको छ।



