काठमाडौं । कामना सेवा विकास बैंकले ‘केयर–एनपी बीबीबी माइनस (इस्युअर)’ रेटिङ प्राप्त गरेको छ । यसलाई हेर्दा बैंकले क्रेडिट रेटिङमा स्तरोन्नति गरेको पाइएको छ ।
केयर रेटिङ्स नेपाल लिमिटेडले यस बैंकलाई यसअघि ‘केयर–एनपी बीबी प्लस (इस्युअर)’ रेटिङ प्रदान गरेकोमा यसपटक बढाएर ‘केयर–एनपी बीबीबी माइनस (इस्युअर)’ प्रदान गरेको हो ।
रेटिङ एजेन्सीका अनुसार ‘केयर–एनपी बीबीबी माइनस’ रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यमस्तरको सुरक्षा भएको तथा मध्यमस्तरको क्रेडिट जोखिम वहन गर्ने संस्थाका रूपमा लिइन्छ ।
बैंकको पुँजीकोषमा भएको सुधार, कर्जाको गुणस्तर व्यवस्थापनमा देखिएको प्रगति, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, मुनाफामा भएको सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका पक्षलाई आधार बनाएर रेटिङ स्तरोन्नति गरिएको बैंकको भनाइ छ ।
रेटिङमा भएको सुधारले निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता, नियामक निकाय तथा अन्य सरोकारवालामाझ बैंकप्रतिको विश्वास थप मजबुत हुने अपेक्षा बैंकले गरेको छ ।
यसले बैंकलाई प्रतिस्पर्धी लागतमा स्रोत परिचालन गर्न तथा संस्थागत निक्षेप र व्यावसायिक साझेदारी विस्तार गर्नसमेत सहयोग पुग्ने बैंकको विश्वास छ ।



