काठमाडौं । मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न गएका टोली हिमपहिरोमा पर्दा १५ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेका छन्। गत असोज २ गते काठमाडौंबाट हिमालय होलिडे कम्पनीका २१ जना र इमेजिङ नेपाल कम्पनीका ६ जना गरी कुल २७ जना नेपाली पुरुषको टोली हिम्लुङ क्षेत्रतर्फ प्रस्थान गरेको थियो। उक्त टोली असोज ११ गते राति करिब १२:४५ बजे अचानक आएको भीषण हिमपहिरोमा परेको हो।
हिमपहिरोमा परेका २७ जनामध्ये ११ जना सकुशल उद्धार हुन सफल भएका थिए भने बाँकी १६ जना सम्पर्कविहीन बनेका थिए। त्यसलगत्तै सुरु गरिएको तीव्र खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १५ जनाको शव फेला परिसकेको छ। फेला परेका मृतकहरूमा संखुवासभाका छेवि भोटे र पासाङ भोटे, गोरखाका विरेन्द्र गुरुङ र आश गुरुङ, खोटाङका घनश्याम राई, लक कुमार गुरुङ र सुरज राई, रुकुम पूर्वका कलम बुढा, काभ्रेपलाञ्चोकका बिर्ख ध्वज तामाङ र जगत तामाङ, सिन्धुपाल्चोकका उर्ख ध्वज बोहोरा, ओखलढुंगाका प्रेम तामाङ तथा दोलखाका कृति बहादुर तामाङ रहेका छन्। यसैगरी ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङको भने वतन र उमेर खुल्न बाँकी रहेको छ।
हिमपहिरोमा परी बेपत्ता भएका ओखलढुंगा घर भएका ३८ वर्षीय पासाङ नुरी शेर्पाको भने अझै स्थिति अज्ञात रहेको छ। उनको खोजीका लागि उद्धार टोली निरन्तर खटिरहेको छ भने घटनाका सम्बन्धमा थप विवरण संकलन गर्ने र शवहरूलाई सम्बन्धित आफन्तको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ।



