काठमाडौं । सांसदहरूले जलवायु प्रकोपका कारण नेपालमा पटक–पटक ठूलो क्षति पुगेको भन्दै सरकारी संरचनाहरूको अनिवार्य बिमा गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले विभिन्न समयमा आएको बाढीपहिरोलगायत विपद्का घटनाका कारण ठूलो सङ्ख्यामा मानवीय तथा भौतिक संरचनामा क्षति भएको उल्लेख गर्दै सरकारी संरचनाको अनिवार्य बिमा गर्न माग गरे । उनले खोज, उद्धार, राहत र पुनःनिर्माणमा ठूलो बजेट लाग्ने भएकाले सो कार्यलाई अनिवार्य गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले यसअघिको सरकारले ६५७ वटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेअनुसार अस्पताल निर्माण हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पद्यकुमारी अर्यालले स्याङ्जाको आधिखोला जलविद्युत्को डीपीआर तयार भएर स्वीकृत भए पनि अहिलेको सरकारले सो परियोजना खारेज गर्न खोजिएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सो जलविद्युत् आयोजनालाई शीघ्र अघि बढाउन सरकारसँग अनुरोध गरिन् ।
एमालेकै सांसद निता घतानीले विगतको ३५ वर्षमा केही नभएको भनेर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गोपाल शर्माले सरकारले स्वदेशमा केही गरौँ भन्ने युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नुको सट्टा निरुत्साहित गर्दै आएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले खोटाङलाई पूर्वको कर्णालीका रूपमा चित्रित गर्दै जिल्लाका १० वटै पालिकामा वर्षाका कारण भत्किएको बाटो पुनःनिर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले पछिल्लो समय राज्यप्रति नागरिकको विश्वास कमी भएको बताउँदै राज्य नागरिकको दायित्व पूरा गर्ने विषयबाट टाढा जान नसक्ने विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले ऊर्जा सङ्कटको विषयमा सरकारले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले केही समयअघि काठमाडौँ वरपरको अव्यवस्थित बस्ती व्यवस्थित गराउन सरकारले चालेको कदम प्रभावकारी भएको बताए ।
नेपाली कांग्रेसका सांसद सन्दीप रानाले यही असोज ८ देखि ११ गते आएको बाढीपहिरोले कालीगण्डकीको तटीय क्षेत्रमा सडक र पुललगायत संरचनामा ठूलो क्षति पुर्याएकाले तत्काल सडक र पुललगायत संरचना पुनःनिर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
एमालेका सांसद राजेन्द्रकुमार राईले चाडपर्व आउन थाले पनि धनकुटाका जनतामा खुसीयाली नभएको बताउँदै भोटेकोशीमा गएको बाढी प्रभावितको अहिलेसम्म जानकारी नपाउँदा परिवारका सदस्यहरू मर्माहित भएको बताए ।
श्रम संस्कृति पार्टीका सांसद राधिका रम्तेलले नेपाल टेलिभिजनबाट क्रिश्चियन धर्मसम्बन्धी कार्यक्रम बन्द गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।
रास्वपाका सांसद भरतराज पराजुलीले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्न सरकारको ध्यानाकर्षण गराए । रास्वपाका सांसद वशुमाया तामाङले नेपाल वायु सेवा निगमको जहाज विदेशी मुलुकमा अलपत्र भएर यात्रुले गुणस्तरीय सेवा नपाएको विषयमा सरकारलाई ध्यानाकर्षण गराइन् । रास्वपाकै सांसद पारसमणि गेलालले आरोप–प्रत्यारोप र दोषारोपणमा समय खर्चिनु उपयुक्त नभएको बताए ।
रास्वपाका सांसद कुसुम महर्जनले निजी अस्पतालका बेड, क्याबिन र शय्याको शुल्क निर्धारण गर्न सरकारसँग माग गरिन् । रास्वपाका सांसद नरेन्द्रकुमार गुप्ताले अर्बौँ लगानीमा स्थापना भएका निजी उद्योग धरासायी हुने अवस्थामा पुगेकाले सरकारले ती उद्योगलाई प्रोत्साहन गर्ने नीति अङ्गीकार गर्नुपर्ने बताए ।
एमालेका सांसद कृपाराम रानाले ३५ वर्षे अवधिमा केही नभएको भाष्य निर्माण गर्न खोजिए पनि सो अवधिमा आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा धेरै खालका सुधारका काम भएको बताए । रास्वपाका सांसद पुकार बमले गैरआवासीय नेपालीलाई पैसा र भोट बैंकका लागि मात्रै हेर्न नहुने बताउँदै विभिन्न क्षेत्रमा रहेका लब्धप्रतिष्ठित व्यक्तिहरूलाई पनि नेपाल ल्याउने वातावरण मिलाउनुपर्ने बताए ।
रास्वपाका सांसद सीताराम साहले सप्तरीका विभिन्न ठाउँमा सरकारी धान खरिद केन्द्र स्थापना गर्न सरकारसँग माग गरे । एमालेका सांसद गुरुप्रसाद बरालले बाढीले क्षतिग्रस्त भएका संरचनाको निर्माणका लागि पुनःनिर्माण प्राधिकरणको आवश्यकता औँल्याए ।
रास्वपाका सांसद धर्मराज केसीले दसैँमा लाखौँ नागरिक आआफ्नो घरमा फर्किने भएकाले सुरक्षित वातावरणमा फर्किने वातावरण मिलाउन सरकारसँग अनुरोध गरे ।



