RE
Global College

तीन महिनापछि मार्तडी–कोल्टी सडक सञ्चालन

काठमाडौं । तीन महिनादेखि अवरुद्ध मार्तडी–कोल्टी सडक सञ्चालनमा आएको छ । उक्त सडक सञ्चालनमा आएसँगै जिल्लाको पूर्वी–उत्तरी क्षेत्रमा उत्पादित स्याउ सहज रुपमा ढुवानी हुन थालेको छ । सडक अवरुद्ध हुँदा पिठ्युँमा बोकेर बजार पुर्याउनुपर्ने स्याउ अहिले किसानले सवारीसाधनमार्फत सदरमुकाम ल्याउन सहज भएको छ ।

वर्षायाम सुरु भएसँगै असारको दोस्रो सातादेखि सडक अवरुद्ध हुँदा पाण्डुसैनलगायत माथिल्लो क्षेत्रका किसानलाई उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन असहज थियो । त्यस क्षेत्रबाट सदरमुकामसम्मको पहुँच सडक अवरुद्ध हुँदा केही किसानले भने कर्णाली करिडोर हँुदै नेपालगञ्ज, धनगढीसम्म समेत स्याउ लैजान परेको थियो । स्वामीकात्तिक खापर गाउँपालिकामा उत्पादित केही स्याउ भने किसानले धनगढीसम्म पुर्याएका छन् । अहिले सडक सञ्चालनमा आएपछि भने सहज रुपमा सदरमुकाममा स्याउ ढुवानी गर्न थालेको स्याउ कृषक उज्जल रावतले बताए ।

बारीबाटै सवारी साधनमार्फत सिधैँ मार्तडीसम्म स्याउ ल्याउन सकिने भएपछि समय र श्रम दुवै घटेको उनी बताउँछन् । अहिले बारीबाटै स्याउ ढुवानी गरी मार्तडी बजारमा रु १३० देखि रु २०० प्रतिकेजीमा बिक्री भइरहेको उनले बताए ।

पाण्डुसैन क्षेत्रमा उत्पादन हुने स्याउ स्थानीय बजार र बाहिरी जिल्लामा समेत बिक्री हुने गरेको छ । पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा पर्याप्त स्याउ उत्पादन भए पनि बजारसम्म ढुवानी गर्न सहज सडक र भण्डारणका लागि चिस्यान केन्द्र नहुँदा कृषकले समस्या झेल्नुपरेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामी कात्तिक खापर र हिमाली गाउँपालिकाका विभिन्न स्थानका करिब ३७५ हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ ।

जिल्लामा गत वर्ष एक हजार २२ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यस वर्ष स्याउ उत्पादन थप बढेको र ढुवानीका लागि अनुदान कार्यक्रम राखिएको भए पनि हालसम्म प्रदेश सरकारको बजेट पारित नहुँदा समस्या भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले जानकारी दिए ।

मार्तडी–कोल्टी सडकखण्ड लामो समयपछि सञ्चालनमा आएसगै त्यस क्षेत्रका नागरिकको आवत जावतसँगै कृषि उपजको ढुवानीमा समेत सहजता भएको बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले बताए ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले पूर्वाधार विकास कार्यालय अछामसँगको समन्वयमा बडीमालिका नगरपालिकाको जेसीबी प्रयोग गरी सडक मर्मतपछि सञ्चालनमा ल्याइएको जानकारी दिए । त्यस सडकको विभिन्न स्थानमा वर्षाका कारण पहिरो झर्ने र खोलामा पानी सतह बढेपछि सडक पूर्ण रूपमा बन्द थियो ।

सडकमा यातायात सञ्चालन हुन नसक्दा जिल्लाका पूर्वी उत्तरी भेगका चार पालिकासहित छिमेकी हुम्ला, मुगुलगायत जिल्लाका नागरिकले आवतजावतमा सास्ती खेप्न परेको थियो ।

स्थानीय दल रोकायाका अनुसार हरेक वर्ष सडक अवरुद्ध हुँदा यात्रुले मार्तडीबाट कोल्टी पुग्न कम्तीमा रु दुई हजारसम्म भाडा तिर्दै तीन वटा सवारीसाधन फेर्नुपर्ने बाध्यता रही आएको थियो ।

मुख्य गरी बाउली र रजातोली खोलामा पुल नहुँदा बर्षातमा सडक अवरुद्ध हुने गरेको छ । करिब २७ वर्षअघि शिलान्यास भएको मार्तडी–कोल्टी सडकखण्ड अझै तोकिएको मापदण्ड अनुरुप स्तरोन्नति हुन सकेको छैन ।

सरकारको बहुवर्षीय योजनामा परेको उक्त सडक कालोपत्रे र स्तरोन्नतिमा भइरहेको ढिलाइका कारण हरेक वर्ष वर्षायाममा सडक अवरुद्ध हुँदै आएको छ ।

Leave Your Comment

Related News