RE
Global College

कम स्पिडका सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने आइस्पानको निर्णय

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISPAN) ले आगामी सोमबारदेखि कम स्पिडका सस्ता इन्टरनेट प्याकेज उपलब्ध गराउन असमर्थ हुने जनाएको छ । ISPAN ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्ला वर्षहरूमा मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्यमा भएको वृद्धि, उच्च मुद्रास्फीति तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को तीव्र वृद्धिका कारण इलेक्ट्रोनिक तथा चिपसेटको मूल्य बढेको जनाएको हो ।

यी लगायत विभिन्न कारण र परिस्थितिले इन्टरनेट सेवा प्रदायकहरूको सञ्चालनमा समेत कठिनाइ उत्पन्न भएकाले हाल उपलब्ध गराउँदै आएका सुपथ मूल्यका तथा कम स्पिडका प्याकेजहरू २०८३ साल असोज १९ गते सोमबारदेखि उपलब्ध गराउन असमर्थ हुने ISPAN ले जनाएको छ ।

ISPAN ले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ । विज्ञप्तिमा नेपालले पछिल्लो १२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा नेपाल दक्षिण एसियामै पहिलो स्थानमा रहेको दाबी गरिएको छ । साथै, नेपालमा इन्टरनेट विश्वकै सस्तोमध्येको एक रहेको ISPAN को भनाइ छ ।

कोरोना महामारीदेखि भोटेकोशीको बाढीसम्म इन्टरनेट सेवा प्रदायकहरूले निरन्तर अत्यावश्यक इन्टरनेट सेवा प्रदान गर्दै आएको ISPAN ले जनाएको छ । डिजिटल नेपालको सपना साकार पार्न अहोरात्र खटिएका इन्टरनेट सेवा प्रदायकका कर्मचारीलाई संघले धन्यवाद दिएको छ ।

ISPAN ले सबै इन्टरनेट सेवा प्रदायकलाई अझ गुणस्तरीय सेवा प्रदान गर्दै डिजिटल नेपालको अभियानमा लागिरहन आग्रह गरेको छ । साथै, नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्नो वेबसाइटमा सजिलै देखिने गरी राख्न पनि सबै ISP लाई निर्देशन दिएको छ ।

ग्राहकहरूलाई अनिवार्य रूपमा भ्याट बिल लिनसमेत ISPAN ले अनुरोध गरेको छ । ISPAN का अध्यक्ष सुधीर पराजुलीले विषम परिस्थितिमा साथ दिने ग्राहकवर्ग तथा सम्बन्धित सबैलाई धन्यवाद दिँदै सेवा प्रदान गर्न आफूहरू निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।

Leave Your Comment

Related News