RE
Global College

फिजी र अस्ट्रेलिया भ्रमणका लागि जाँदै परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र अस्ट्रेलियाको भ्रमणका लागि आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् ।

जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल फिजी जान लागेको उनको सचिवालयले जनाएको छ ।

फिजी र टुभालुमा अक्टोबर ५ र ६ मा आयोजना हुने सो कार्यक्रम अन्तर्गत अक्टोबर ६ मा हुने नेताहरूको पूर्ण सत्रलाई मन्त्री खनालले सम्बोधन गर्नेछन् । सो सत्रअघि पलाउका राष्ट्रपति तथा अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीसँग संयुक्त रूपमा आयोजना हुने सञ्चारकर्मीसँगको प्रश्नोत्तर कार्यक्रममा समेत उनी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने यस कार्यक्रममा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

फिजीको कार्यक्रम सकिएपछि मन्त्री खनाल उतैबाट अस्ट्रेलिया प्रस्थान गर्नेछन् । अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग उनले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, द्विपक्षीय सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल हुनेछ ।

अस्ट्रेलिया भ्रमणका क्रममा क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा रहेका नेपाली डायस्पोराद्वारा छुट्टाछुट्टै आयोजना गरिने कार्यक्रममा मन्त्री खनाल सहभागी हुनेछन् । सो क्रममा उनले अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

भ्रमण पूरा गरी मन्त्री खनाल अक्टोबर १२ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Leave Your Comment

Related News