RE
Global College

डडेल्धुराबाट शेरबहादुर र धनगढीबाट आरजु सर्वसम्मत क्षेत्रीय प्रतिनिधि

कैलाली ।नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवा कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्।

यस्तै, कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीबाट महिला खुलातर्फ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन्।

शुक्रबार अबेर राति सम्पन्न वडा अधिवेशनमा राणाले रमेशकुमार चन्दको वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएकी थिइन्। उनी निर्विरोध निर्वाचित भएकी हुन्। देउवाले पनि वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए।

कांग्रेसको संस्थापन इतर पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको हो।

यसअघि कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो। तर, विधान संशोधन गर्दै केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यसमेत वडाबाटै प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ।

सोही संशोधित विधानअनुसार देउवा र राणा वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्।

Leave Your Comment

Related News