काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पछिल्लो समय धमाधम लाभांश घोषणा गर्न थालेका छन् । चाडपर्व अगाडि नै शेयरधनीलाई लाभांश वितरण गर्ने उद्देश्यले लाभांश घोषणा गरिएको पाइन्छ ।
आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गर्न थालेका हुन् । हालसम्म आठ वटा बैंक तथा वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् ।
लाभांश घोषणा गर्ने बैंक तथा वित्तीय संस्थाहरुमा नबिल बैंक,एभरेष्ट बैंक, सानिमा बैंक,ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंक ,नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) आइसिएफसी फाइनान्स हुन् ।
नबिल बैंकले आर्थिक वर्ष २०८२।८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १० दशमलव ८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६.४६ रुपैयाँबराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६.७६ रुपैयाँ रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ। बैंकले बुक क्लोज गरिसकेको छ । बैंकले आफ्नो ४२ औँ वार्षिक साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ।
एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) रहेका छन्। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।
सानिमा बैंकले बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ छ। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तपुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको बोनस शेयर र १० प्रतिशतले हुन आउने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
बैंकले बुक क्लोज गरिसकेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले आफ्नो २५ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।
कुमारी बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि वितरणयोग्य रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २.१०५३ प्रतिशतले हुन आउने ५५ करोड २१ लाख २३ हजार ३९६.६३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा यही असोज २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश छन्। बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा यही असोज २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ। लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ३६ करोड २५ लाख ८६ हजार ३४७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।
बैंकले आफ्नो २८ औँ वार्षिक साधारणसभा यही असोज २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैंकले बुक क्लोज गरिसकेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि आफ्ना शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको भदौ १ गते बसेको ३९७औँ बैठकले उक्त प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्तापूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसालाई आधार मानेर लाभांश वितरण गर्न लागेको जनाएको छ । प्रस्तावअनुसार शेयरधनीले ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश पाउनेछन् । बोनस शेयरका लागि बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको रकम छुट्याएको छ । यस्तै, नगद लाभांशतर्फ २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा वितरण गर्ने प्रस्ताव गरिएको छ । बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांश वितरण गर्दा लाग्ने करसमेत समेटिएको छ । यसअनुसार बोनस र नगद गरी कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा लाभांश वितरण हुनेछ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । गत वर्ष निफ्राले ६.३१ प्रतिशत नगद लाभांश शेयर धनीहरूलाई वितरण गरेको थियो । आर्थिक वर्ष २०८२/८३ को वितीय विवरण सार्वजनिक गरेपछि बैंक तथा वित्तीय संस्थाहरूले लाभांश वितरण प्रक्रिया अगाडि बढाएका हुन् । आइसिएफसी फाइनान्सले १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यो फाइनान्सले गत वर्ष १५.७८ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश तथा बैंकको वित्तीय विवरणलाई अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइने छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको वार्षिक साधारणसभाले प्रस्ताव अनुमोदन गर्नुपर्नेछ ।
साधारणसभाबाट पारित भएपछि बैंकले तोकिएको मितिमा कायम रहेका योग्य शेयरधनीलाई बोनस सेयर तथा नगद लाभांश वितरण गर्नेछ ।



