काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपालको राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै राईले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताए ।
उनले आफू कांग्रेसको प्रतिस्पर्धीका रूपमा नभई नेपालको लोकतान्त्रिक इतिहासको साक्षीका रूपमा महाधिवेशनमा सहभागी भएको बताए । नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना र त्यसको संस्थागत विकासमा कांग्रेसको योगदान रहेको उल्लेख गर्दै उनले महाधिवेशनले समृद्ध राष्ट्र निर्माणका लागि आवश्यक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
राईले पछिल्लो समय नेपालको राजनीतिमा सत्ता केन्द्रित प्रतिस्पर्धा हाबी भएको भन्दै अब कामका आधारमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताए ।
‘कुन पार्टीले कति वर्ष सत्ता चलाउने वा कति पटक सरकारमा जाने भन्ने प्रतिस्पर्धाभन्दा पनि कुन पार्टीले जनताका लागि कति राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा आजको आवश्यकता हो,’ उनले भने ।
आफ्ना पार्टी अध्यक्षको भनाइ उद्धृत गर्दै राईले राजनीतिक दलहरू अब कामको प्रतिस्पर्धामा लाग्नुपर्नेमा जोड दिए ।
देश निर्माणका लागि नयाँ पुस्तालाई राजनीतिमा अगाडि बढाउनुपर्ने धारणा राख्दै उनले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समेटेर अघि बढ्न सके मात्र देशले विकासको गति समात्न सक्ने बताए ।
‘राजनीतिमा अब नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक छ । पुराना अनुभव र नयाँ पुस्ताको ऊर्जालाई समेटेर अघि बढ्न सके मात्र देशले विकासको गति समात्न सक्छ,’ राईले भने।



