काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टीको नेतृत्वमा आउनु सकारात्मक भएको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै पोखरेलले कांग्रेससँग सहकार्य गरेर लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्ने समय आएको बताए।
गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा थापा आफूहरूसँगै रहेको स्मरण गर्दै पोखरेलले त्रिचन्द्र क्याम्पसको सभादेखि नै आफूहरू सँगै उभिएको बताए।
‘गगनकुमार थापा गणतन्त्र ल्याउने नेतृत्वको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले पुरानो पार्टी कांग्रेसको नेतृत्वमा आउनुभएको छ। यो एकदमै सकारात्मक कुरा हो,’ उनले भने।
पोखरेलले राणा शासन, पञ्चायत र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध कांग्रेस र एमालेले सहकार्य गरेको स्मरण गर्दै आगामी दिनमा पनि लोकतन्त्रको रक्षाका लागि सहकार्य आवश्यक रहेको बताए।
‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ उनले भने, ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनमा हामी मिलेर लडेका हौँ। अब फेरि पनि कांग्रेससँगको सहकार्यमा लोकतन्त्रको रक्षाका लागि लड्नेछौँ।’
महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलसँग पर्याप्त छलफल र सहकार्य नगरी अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका कुरा नसुन्ने अवस्था देखिएको भन्दै उनले सरकारको कार्यशैलीलाई ‘स्वेच्छाचारी शासन’ को संज्ञा दिए।
कांग्रेसले आगामी दिनमा यस विषयमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पोखरेलले युवालाई निराश हुन दिन नहुने बताए। युवाका सपना पूरा गर्ने जिम्मेवारीमा सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपना पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने।
पोखरेलले कांग्रेसको १५औँ महाधिवेशनले नेपाली जनता र जनभावनासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास व्यक्त गरे। सूचना प्रविधिको विकासमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।



