काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीका कारण पुगेको क्षतिपछि राहत, उद्धार र पुनर्स्थापनाका लागि नेपाल सरकारले कुल ३७ करोड रुपैयाँ नगद राहत निकासा गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावित जिल्लाहरूमध्ये रसुवा र नुवाकोटमा १/१ करोड रुपैयाँ तथा धादिङ जिल्लामा ५० लाख रुपैयाँ रकम निकासा गरिएको छ।
त्यसैगरी बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि मात्रै कुल १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ, जसअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा २ करोड, उत्तरगयामा १ करोड ५० लाख, कालिकामा ६० लाख र आमाछोदिङ्मोमा ४० लाख रुपैयाँ पठाइएको छ।
नुवाकोटको विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ५० लाख, तारकेश्वरलाई १ करोड र किस्पाङ गाउँपालिकालाई ५० लाख रुपैयाँ निकासा भएको छ भने धादिङको गल्छीमा ६० लाख र सिद्धलेक, गजुरी तथा बेनीघाट रोराङ गाउँपालिकामा ४०/४० लाख रुपैयाँ पठाइएको छ।
साथै, गोरखाको गण्डकी गाउँपालिका र तनहुँका देवघाट तथा आबुखैरेनी गाउँपालिकालाई पनि ४०/४० लाख रुपैयाँ उपलब्ध गराइएको छ। बाढीग्रस्त क्षेत्रमा खोज, उद्धार तथा आवश्यक सामग्री खरिदलाई तीव्रता दिन सुरक्षा निकायहरूलाई समेत कुल २२ करोड रुपैयाँ निकासा गरिएको छ, जसमा नेपाली सेनाका लागि १० करोड रुपैयाँ तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि ६/६ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ।



