RE
Global College

पुटिनको चेतावनी : कालिनिनग्राडको सुरक्षाका लागि रुस आणविक हतियार प्रयोग गर्न तयार

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसको अलग भूभाग कालिनिनग्राडमाथि प्रत्यक्ष आक्रमण भएको ठानेमा रुसले आफ्नो नियन्त्रणमा रहेका सबै हतियार प्रयोग गर्ने बताएका छन्।

राष्ट्रपति पुटिनले भने, ‘रुसले कसैलाई धम्की दिएको छैन।’ पश्चिमी नेताहरूले रुसले सन् २०२९ वा २०३० मा युद्धको तयारी गरिरहेको बताउँदै आएका कारण त्यसको प्रतिक्रिया मात्र दिएको उनको भनाइ छ।

यो साता रुसले नेटोले आफ्नो भूभागलाई नाकाबन्दी गर्ने तयारी गरिरहेको आरोप लगाउँदै आएको छ। लिथुआनिया र पोल्यान्डसँग सीमा जोडिएको कालिनिनग्राडलाई रुसको बाँकी भूभागबाट अलग गर्ने प्रयास भएमा आफू आणविक हतियार प्रयोग गर्नसमेत तयार रहेको रुसले चेतावनी दिएको छ।

नेटोले भने अवस्था शान्त पार्ने प्रयास गर्दै आफू रक्षात्मक गठबन्धन भएको बताएको छ। साथै, मस्कोलाई ‘आणविक धम्की’ दिन बन्द गर्न आग्रह गरेको छ।

पछिल्ला केही महिनामा विशेषगरी पोल्यान्ड र बाल्टिक क्षेत्रमा रुसमाथि आरोप लगाइएका ‘हाइब्रिड युद्ध’का घटनामा वृद्धि भएको पश्चिमी मुलुकहरूले बताएका छन्।

गत साता मात्र पोल्यान्डले कालिनिनग्राडसँग जोडिएको आफ्नो क्षेत्रमा रुसी हेलिकोप्टर प्रवेश गरेको जनाएको थियो। त्यस्तै, लिथुआनियाले रुसी ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्नेलगायतका घटनाका कारण त्यहाँका नागरिकले आफूलाई ‘निरन्तर खतरा’ महसुस गरिरहेको बताएको थियो।

जर्मन चान्सलर फ्रिड्रिख मर्जले बिहीबार आफ्नो देश थप हाइब्रिड आक्रमणका लागि तयार भइरहेको बताएका थिए। उनले यस्ता आक्रमण ‘गम्भीर’ समेत हुन सक्ने बताएका थिए। अगस्टमा युक्रेनी कार्गो विमाननजिकै लाइपजिग विमानस्थलको धावनमार्गमा विस्फोटक पदार्थसहितको ड्रोन फेला परेको थियो।

पश्चिमलाई दोष

विदेश नीतिसम्बन्धी वाल्दाई फोरममा लामो सम्बोधन गर्दै पुटिनले अन्तर्राष्ट्रिय द्वन्द्वहरू निरन्तर रहने सम्भावना उच्च रहेको बताएका छन्। तर ‘पश्चिमी प्रभुत्व’ कमजोर हुँदै गएसँगै अवस्था सुधार हुने उनको दाबी छ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको युद्ध सुरु गर्ने निर्णय आफैँले गरे पनि पुटिनले पुनः पश्चिमी मुलुकलाई नै युद्ध भड्काएको आरोप लगाए। मस्को आफ्नो सुरक्षाका लागि बाध्य भएर हतियार उठाउनुपरेको उनको दाबी थियो।

युक्रेनले रुसका तेल प्रशोधन केन्द्र र काला सागरमा रहेका रुसी पानीजहाजमाथि आक्रमण गरेपछि त्यसको प्रत्यक्ष जवाफस्वरूप युक्रेनका आर्थिक संरचनामाथि रुसले आक्रमण गरेको पुटिनले बताए।

उनले भने, ‘अहिले चारैतिरबाट हामीलाई युद्ध रोकौँ भनेर आग्रह भइरहेको छ। तर यो उनीहरूले सुरु गरेका हुन्।’

युक्रेनी सेनाले गरेको तेल प्रशोधन केन्द्रमाथिको आक्रमणबाट केही प्रभाव परेको पुटिनले स्वीकार गरेका छन्। उनका अनुसार ती आक्रमणका कारण रुसले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब १ प्रतिशत गुमाएको छ।

युक्रेनले भने रुसले युद्धका लागि आर्थिक स्रोत जुटाउन तेल पूर्वाधारको प्रयोग गरिरहेकाले आफूहरूले रुसी तेल पूर्वाधारमाथि आक्रमण सुरु गरेको बताउँदै आएको छ।

सन् २०२२ मा युक्रेन युद्ध सुरु भएयता रुसले हरेक जाडोयाममा युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै आएको छ। अन्य नागरिक पूर्वाधारमा पनि नियमित रूपमा आक्रमण हुने गरेको छ। बिहीबार राजधानी किभको एउटा महत्वपूर्ण पुलमा समेत ड्रोनबाट आक्रमण गरिएको थियो।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

Leave Your Comment

Related News