काठमाडौं । नजिकिँदै गरेका दसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायको बैठक बोलाएको छ।
विभागले सोमबार पत्र जारी गर्दै चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट बाहिरिने तथा बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यात्रुको यात्रा सहज, सुरक्षित र व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङबारे निर्णय गर्न बैठक बोलाएको हो।
विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालले हस्ताक्षर गरेको पत्रअनुसार बैठक असोज २० गते मंगलबार बिहान ११ बजे मीनभवनस्थित विभागको सभाहलमा बस्नेछ।
बैठकमा प्रहरी प्रशासन, यातायात व्यवसायी तथा मजदुर संगठनका प्रतिनिधिलाई सहभागी हुन विभागले पत्राचार गरेको छ।
चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रुको चाप अत्यधिक बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारी व्यवस्थापन, यात्रुको सुरक्षा तथा सम्भावित समस्याबारे बैठकमा छलफल हुने विभागले जनाएको छ।



