काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धरानमा टिभिएस एनटर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक बिपुल क्षेत्रीको कन्सर्टकाबीच सार्वजनिक गरिएको नयाँ स्कुटरलाई कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ।
कार्यक्रममा टिभिएसका ग्राहक तथा प्रेमी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर र अतिथिहरूको सहभागिता थियो। एनटर्क १५० को औपचारिक अनावरण गायक बिपुल क्षेत्री, पारस अटोमोबाइल–टिभिएस इटहरीका म्यानेजिङ डाइरेक्टर पौरख लुइँटेल र जगदम्बा मोटर्सकी सिनियर मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा गरेका थिए।
एनटर्क १५० मा १४९.७ सीसी एयर-कुल्ड इन्जिन रहेको छ। कम्पनीका अनुसार यसले ७,००० आरपीएममा १३.२ पीएस पावर र ५,५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ। स्कुटरले ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा हासिल गर्ने र अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ।
स्टेल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइनमा तयार गरिएको एनटर्क १५० मा मल्टिपोइन्ट प्रोजेक्टर हेडल्यम्प, एरोडाइनामिक विङलेट्स, जेट-इन्स्पायर्ड भेन्ट्स, कलर्ड अलोय ह्विल्स, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार र टी-सेप्ड टेल ल्याम्प राखिएको छ।
स्कुटरमा टिभिएस स्मार्टएक्सोनेक्ट प्रविधिमार्फत ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ। टर्न-बाइ-टर्न नेभिगेसन, लास्ट पार्क्ड लोकेसन, कल तथा मेसेज नोटिफिकेसन र विभिन्न राइडिङ मोड यसका प्रमुख स्मार्ट फिचर हुन्।
सुरक्षा र सुविधातर्फ एनटर्क १५० मा सिङ्गल-च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल, हाजार्ड ल्याम्प, फलो-मी हेडल्यम्प, टेलिस्कोपिक सस्पेन्सन र एडजस्टेबल ब्रेक लेभर्स छन्। यसमा ई-जेड सेन्टर स्ट्यान्ड र २२ लिटर क्षमताको अन्डर-सिट स्टोरेज पनि उपलब्ध छ।
सार्वजनिक कार्यक्रममा जगदम्बा मोटर्सकी सिनियर मार्केटिङ म्यानेजर करुणा पुडासैनीले एनटर्क १५० मार्फत कम्पनीले एनटर्कको पर्फर्मेन्स, प्रविधि र डिजाइनमा आधारित पहिचानलाई थप अगाडि बढाउन खोजेको बताइन्। उनका अनुसार धरानमा बिपुल क्षेत्रीको कन्सर्टबीच स्कुटर सार्वजनिक गर्दा संगीत, युवा संस्कृति र हाइपर पर्फर्मेन्सलाई एउटै मञ्चमा जोड्ने अवसर मिलेको हो।
एनटर्क १५० स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रंगमा उपलब्ध छ। यसको इन्ट्रोडक्टरी मूल्य रु. ३ लाख ६९ हजार ९०० तोकिएको छ। कम्पनीका अनुसार स्कुटर नेपालभर रहेका जगदम्बा मोटर्सका अधिकृत डिलरमार्फत उपलब्ध हुनेछ।



