काठमाडौं ।भदौ १० गते आएको भोटेकोशी बाढीका कारण नेपालको आर्थिक वृद्धिदरमा असर पर्ने विश्व बैंकले जनाएको छ ।
बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको असरले नेपालको आर्थिक वृद्धि घटेर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आर्थिक वर्ष आर्थिक वर्ष २०८४/८५ मा आर्थिक वृद्धि ५.२ प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ।
विश्व बैंकले मंगलबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : बिल्डिङ ब्याक डिफरेन्ट्ली फर द फ्युचर’ प्रतिवेदनले बाढीका कारण उद्योग क्षेत्र आर्थिक वृद्धिको प्रमुख अवरोध बन्ने जनाएको छ। जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको ठूलो क्षतिले विद्युत् उत्पादन, औद्योगिक उत्पादन तथा वस्तु ओसारपसारमा असर पर्ने प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा आएको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने विश्व बैंकको आकलन छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित भए पनि प्रभावित क्षेत्रका नागरिकको जीविकोपार्जनमा भने यसको ठूलो असर पर्ने प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिसलेनले रसुवा बाढीले ठूलो मानवीय तथा आर्थिक क्षति पुर्याएको बताए।
उनले विपद्पछिको अवस्थालाई नेपालको पूर्वाधार प्रणालीबारे पुनर्विचार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। बदलिँदो जलवायु र नयाँ जोखिमको सन्दर्भमा कनेक्टिभिटी, ऊर्जा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवाको योजना तथा लगानीमा उत्थानशीलता र वैकल्पिक व्यवस्था (रेडन्डेन्सी) लाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।
बाढीपछि राहतबाट पुनर्निर्माणतर्फ अघि बढ्दा क्षतिग्रस्त संरचना पुरानै अवस्थामा फर्काउनेभन्दा पनि बहुविपद् जोखिमको अद्यावधिक मूल्याङ्कन, पूर्वाधारको स्थान र डिजाइनको सावधानीपूर्वक छनोट तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने विश्व बैंकले सुझाव दिएको छ।
त्यस्तै, पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने र विपद् प्रभावित तथा जोखिममा रहेका परिवारलाई तत्काल सहायता पुर्याउन सक्ने आधारका रूपमा एकीकृत सामाजिक सुरक्षा प्रणाली निर्माण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंकको नेपाल विकास अपडेट दक्षिण एसिया आर्थिक अपडेटको सहायक प्रतिवेदनका रूपमा सार्वजनिक गरिएको हो। विश्व बैंकले वर्षमा दुईपटक सार्वजनिक गर्ने दक्षिण एसिया आर्थिक अपडेटले यस क्षेत्रको आर्थिक विकास तथा सम्भावनाको विश्लेषण गर्दै आएको छ।
पछिल्लो दक्षिण एसिया आर्थिक अपडेटअनुसार यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने र सन् २०२७ मा घटेर ६.७ प्रतिशतमा आउने प्रक्षेपण गरिएको छ। बलियो आन्तरिक मागका कारण विश्वव्यापी आर्थिक जोखिमका बीच पनि दक्षिण एसियाको अर्थतन्त्र तुलनात्मक रूपमा लचिलो रहने विश्व बैंकको आकलन छ।
प्रतिवेदनले कृत्रिम बौद्धिकता (एआई) को रणनीतिक प्रयोगमार्फत दक्षिण एसियामा आर्थिक वृद्धिका नयाँ स्रोत सिर्जना गर्न सकिने विषयसमेत समेटेको छ। दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा अझै निकै पछाडि रहेको विश्व बैंकले जनाएको छ।
एआईको प्रयोग तीव्र रूपमा बढिरहेको र व्यवसायहरूले नयाँ बजार अवसर खोज्न यसको प्रयोग गरिरहेको प्रतिवेदनमा उल्लेख छ। एआईमा आधारित विश्वव्यापी मूल्य शृंखलासँगको सम्बन्धमार्फत दक्षिण एसियाका आपूर्तिकर्ताका लागि नयाँ अवसर सिर्जना भइरहेको पनि विश्व बैंकले जनाएको छ।
स्वास्थ्य, शिक्षा र कृषिजस्ता दक्ष जनशक्तिको अभाव रहेका क्षेत्रमा सार्वजनिक सेवा प्रवाह सुधार गर्न एआईको प्रयोगको ठूलो सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ।
विश्व बैंक समूहका एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सोर्गेले एआईको प्रयोगले श्रम उत्पादकत्व बढाउने, निर्यातका अवसर विस्तार गर्ने तथा सार्वजनिक सेवा प्रवाह सुधार गर्ने भएकाले दक्षिण एसियाको विकास यात्रालाई परिवर्तन गर्न सक्ने बताइन्।
तर यसको लाभ लिन सरकारले दक्ष जनशक्ति विकास, व्यवसायमैत्री वातावरण निर्माण तथा भौतिक र डिजिटल पूर्वाधार सुधार गर्नुपर्ने उनको भनाइ छ।
विश्व बैंकले एआईको प्रयोगमा रहेका अवरोध हटाउन साना व्यवसायलाई सहयोग गर्ने, स्थानीय एआई नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा स्पष्ट नियामक व्यवस्था निर्माण गर्न सुझाव दिएको छ। साथै, तथ्याङ्कको सुरक्षा र गोपनीयता सुनिश्चित गर्दै एआई प्रयोगसम्बन्धी अनिश्चितता कम गर्ने नीतिगत व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।



