RE
Global College

आधारभूत सेयरधनीको नियमबारे लगानीकर्ता र धितोपत्र बोर्डबिच ३ घण्टा छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्थाबारे लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गरेको छ। करिब तीन घण्टा चलेको उक्त छलफलमा उक्त व्यवस्थाबाट सिर्जित अन्योल, संस्थापक सेयरको कारोबार तथा दोस्रो बजारका लगानीकर्तामा पर्न सक्ने प्रभावबारे छलफल भएको छ।

छलफल तथा सुझाव सङ्कलनमा छलफलमा सेबोनका कार्यकारी निर्देशक रुपेश केसीलगायत अधिकारी सहभागी थिए।। यता लगानीकर्ताको तर्फबाट हरिबहादुर केसी, घनश्याम पाण्डे, दीपक रत्न शाक्य र तिलक कोइराला लगायत सहभागी भएको बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले बताए।

न्यौपानेका अनुसार अर्थ मन्त्रालयको निर्णय वा निर्देशन भए तापनि अध्यक्ष र बोर्डले लगानीकर्ताका सुझावका आधारमा निर्णय लिनेछन्। डिस्क्लोजर (पारदर्शिता) को सिद्धान्तलाई कायम राख्दै १ अर्बभन्दा मुनि वा माथिका कम्पनीहरूका लागि नियम कसरी व्यावहारिक बनाउने भन्नेमा छलफल केन्द्रित थियो। लगानीकर्ताबाट लिइएको सुझावका आधारमा अध्यक्ष पोखराबाट फर्किएपछि नियममा आवश्यक संशोधन वा थप स्पष्टीकरण जारी गरिनेछ।

लगानीकर्ता एस. पी. चौलागाईँका  अनुसार

 एस. पी. चौलागाईँले सरोकारवालाहरूसँगको आवश्यक सल्लाह र छलफलपछि बोर्ड आफ्नो निर्णय सच्याउन तयार रहेको बताएका छन्।

छलफलका क्रममा लगानीकर्ताहरूले यो नियमले दोस्रो बजारमा अन्योल सिर्जना गरेको भन्दै पूर्वसूचनाको अवधि घटाउन वा दोस्रो बजारको हकमा यो व्यवस्था पूर्ण रूपमा हटाउन सुझाव दिएका छन्। बजारको संवेदनशीलता र लगानीकर्ताको सुझावलाई ध्यानमा राख्दै बोर्ड सरोकारवालाहरूसँग छलफल गरी आफ्नो निर्णयमा आवश्यक संशोधन र सुधार गर्न तयार भएको छ।

लगानीकर्ता घनश्याम पाण्डेका अनुसार:

सेबोनका अध्यक्ष हाल उपत्यकाबाहिर रहेकाले उहाँ फर्किएपछि बोर्ड बैठक बसेर आवश्यक सुधारका विषयमा छलफल गर्ने आश्वासन पाइएको छ।

“उहाँ आएपछि बोर्डको मिटिङ राखेर यो जति पनि करेक्सन गर्ने कुराहरू छन्, त्यसमा छलफल गरेर चाँडै निर्णय सार्वजनिक गर्छौँ भन्ने प्रतिबद्धता दिनुभएको छ,” पाण्डेले भने।

पाण्डेका अनुसार लगानीकर्ता पक्षको मुख्य माग संस्थापक सेयर र दोस्रो बजारमा कारोबार हुने सेयरको परिभाषासँग सम्बन्धित थियो। त्यसबाहेक, संस्थापक सेयर, दोस्रो बजारमा आउने सेयर, कम्पनीको सुशासन, आईपीओ जारी गर्ने व्यवस्था तथा नीति-नियममा सुधार गर्नुपर्ने विषयमा समेत एकमुष्ट सुझाव दिइएको र बोर्डले ती सुझावहरू सकारात्मक रूपमा ग्रहण गरेको उनले बताए।

लगानीकर्ता तिलक कोइरालाका अनुसार:

धितोपत्र बोर्डले जारी गरेको १५ दिने सूचना र ३ महिनाभित्र आधारभूत सेयरधनीले सेयर बेचिसक्नुपर्ने व्यवस्थाका कारण बजारमा अन्योल सिर्जना भएपछि लगानीकर्ताहरूले आफ्ना मागहरू अघि सारेका हुन्। विशेष गरी दोस्रो बजारबाट सेयर खरिद गर्ने सामान्य लगानीकर्ताका हकमा ‘आधारभूत सेयरधनी’ को नियम लागू हुन नहुने माग लगानीकर्ताको छ। साथै, प्रमोटरबाट साधारणमा रूपान्तरण भई ‘लक-इन’ अवधि सकिएका सेयरहरू बिक्री गर्न ‘अफर फर सेल’ वा ‘बल्क ट्रान्स्याक्सन’ जस्ता सहज विकल्प उपलब्ध गराइनुपर्ने उनीहरूको भनाइ छ। कम्पनीको स्थायित्व र संस्थागत सुशासनलाई ध्यान दिँदै सेयर बिक्रीको वातावरण बनाउनुपर्ने विषयमा जोड दिइएको छ। छलफलपछि बोर्डले लगानीकर्ताका मागप्रति सकारात्मक रहँदै चाँडै ठोस निर्णय सार्वजनिक गर्ने आश्वासन दिएको छ।

Leave Your Comment

Related News