RE
Global College

 फ्रान्समा विद्यार्थी आन्दोलनले उजागर गर्‍यो ऋण सङ्कट, युरोपका अन्य देशमा पनि फैलिन सक्ने जोखिम

काठमाडौं ।  फ्रान्समा विद्यार्थीहरूको अभूतपूर्व आन्दोलनले देशमा बढ्दो वित्तीय दबाबलाई उजागर गरेको छ। युरोपको दोस्रो ठूलो अर्थतन्त्र रहेको फ्रान्सले तीव्र रूपमा बढिरहेको बजेट घाटा नियन्त्रण गर्ने प्रयास गरिरहेका बेला आर्थिक चुनौती थप जटिल बन्ने देखिएको छ।

फ्रान्सको सार्वजनिक वित्तीय अवस्था निकै नाजुक बनेको छ। देशको तथ्याङ्क निकायका अनुसार, गत जुनसम्म फ्रान्सको सार्वजनिक ऋण ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको थियो। यो रकम देशको कुल अर्थतन्त्रको आकारभन्दा पनि ठूलो हो। त्यसमाथि, ऋणपत्रको प्रतिफल (बन्ड यिल्ड) बढ्दै जाँदा उक्त ऋणको ब्याज तथा भुक्तानी व्यवस्थापनमा लाग्ने खर्च गत वर्षको तुलनामा अर्बौँ डलरले बढेको छ।

यसैबीच, सरकारी खर्चको दबाब पनि बढिरहेको छ। वृद्ध जनसङ्ख्या बढ्दै जाँदा निवृत्तिभरण (पेन्सन) मा हुने खर्च वृद्धि भएको छ भने सरकारले रक्षा क्षेत्रमा समेत थप लगानी गर्ने योजना बनाएको छ।

गत साता फ्रान्सेली सरकारले बजेट घाटा कम गर्ने उद्देश्यले सरकारी खर्चमा व्यापक कटौती र कर वृद्धि गर्ने प्रस्ताव अघि सारेको थियो। तर, आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनअघि सांसदहरूले वित्तीय सुधारका उपायलाई कमजोर बनाउन सक्ने चिन्ताले ऋणपत्रका लगानीकर्ता सशङ्कित बनेका छन्।

परामर्शदाता संस्था क्यापिटल इकोनोमिक्सका प्रमुख युरोपेली अर्थशास्त्री एन्ड्र्यु केनिङहमका अनुसार, आगामी निर्वाचनमा राष्ट्रपति इमानुएल म्याक्रों पदबाट हट्न सक्ने सम्भावना छ। उनको स्थानमा अतिदक्षिणपन्थी वा अतिवामपन्थी विचारधाराका नेता आउन सक्ने भएकाले फ्रान्सले वित्तीय अनुशासन कायम राख्ने प्रतिबद्धतामाथि प्रश्न उठेको छ।

दक्षिणपन्थी नेसनल र्‍याली पार्टीकी नेता मरिन ले पेनले हालै सार्वजनिक वित्तीय अवस्था स्थिर बनाउन सरकारी खर्चमा उल्लेख्य कटौती गर्ने प्रस्ताव गरेकी छन्। तर, उनको पार्टी महँगो पर्ने कर कटौतीका योजनामा पनि प्रतिबद्ध रहेको केनिङहमले बताएका छन्।

गत साता सार्वजनिक गरेको टिप्पणीमा उनले निर्वाचनपछि लोकप्रियतावादी वित्तीय नीतिले थप प्रश्रय पाउने विषयमा पनि लगानीकर्ता चिन्तित हुने उल्लेख गरेका छन्। आगामी वर्षको निर्वाचनअघि वा पछि फ्रान्सको ऋणपत्रको प्रतिफल र जर्मनीको ऋणपत्रको प्रतिफलबीचको अन्तर अझै ठूलो मात्रामा बढ्ने जोखिम रहेको उनको भनाइ छ।

ऋणपत्रको प्रतिफलमा तीव्र वृद्धि

फ्रान्समा सम्भावित ऋण सङ्कटलाई लिएर बढेको चिन्ता गत साता उत्कर्षमा पुगेको थियो। त्यसपछि लगानीकर्ताले फ्रान्सेली ऋणपत्र बिक्री गर्न थाले, जसका कारण ऋणपत्रको प्रतिफलमा तीव्र वृद्धि भयो।

फ्रान्स र जर्मनीका सरकारी ऋणपत्रको प्रतिफलबीचको अन्तर सन् २०१२ यताकै उच्च स्तरमा पुगेको छ। यसले लगानीकर्ताले जर्मनीको तुलनामा फ्रान्सको ऋणपत्रमा लगानी गर्न बढी प्रतिफल मागिरहेको सङ्केत गर्छ। जर्मनीलाई तुलनात्मक रूपमा सुरक्षित लगानी गन्तव्य मानिन्छ।

फ्रान्सेली ऋणपत्र बजारमा आएको गिरावटले युरोपका अन्य उच्च प्रतिफल भएका ऋणपत्र बजारमा समेत यसको असर फैलिन सक्ने चिन्ता बढाएको छ। केही विश्लेषकहरूले यस अवस्थालाई सन् २०१० को दशकको सुरुवातमा देखिएको युरोजोन ऋण सङ्कटसँग तुलना गरेका छन्।

फ्रान्सको बढ्दो सार्वजनिक ऋण, सरकारी खर्चको दबाब, बजेट घाटा नियन्त्रणका चुनौती र राजनीतिक अनिश्चितताले त्यहाँको वित्तीय स्थिरतामाथि प्रश्न उठाएको छ। फ्रान्समा देखिएको यो समस्या अन्य युरोपेली अर्थतन्त्रमा समेत फैलिन सक्ने जोखिमले क्षेत्रीय वित्तीय बजारमा चिन्ता बढाएको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

NECO

Leave Your Comment

Related News