काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले काठमाडौँमा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को उद्घाटन सत्र ‘कृति इग्नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। नेपालको विज्ञापन तथा आम सञ्चार क्षेत्रमा सिर्जनशीलता र उत्कृष्टताको सम्मान गर्ने कृति अवार्ड्सको यो नयाँ शृङ्खला औपचारिक रूपमा शुभारम्भ भएको हो।सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा पानसमा बत्ती बालेर कार्यक्रमको विधिवत् उद्घाटन गरिएको थियो। समारोहमा विभिन्न क्षेत्रका विज्ञ, उद्योगी तथा व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो।
यस वर्षको कृति अवार्ड्सलाई देशका प्रमुख आर्थिक तथा नियमनकारी संस्थाहरूको व्यापक सहयोग र समर्थन प्राप्त भएको छ। कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले समर्थन गरेका छन्।
त्यसैगरी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल यसै वर्षदेखि सह(आयोजकका रूपमा सहभागी भएका छन्। साथै, यस संस्करणमा आनका गैर(सदस्यहरूका लागि पनि मनोनयन खुला गरिएको छ।
मुलुकका शीर्ष व्यावसायिक संघ(संस्थाहरूको समर्थन, मिडिया संघ-संगठनहरूको सह(आयोजना र गैर(सदस्यहरूका लागिसमेत ढोका खोलिएको यो ऐतिहासिक पहलले राष्ट्रिय आर्थिक क्षेत्रमा आनको भूमिकालाई अझ व्यापक र समावेशी बनाएको कार्यक्रमका वक्ताहरूले बताए।
समारोहमा नेपालको विज्ञापन उद्योग र आम सञ्चारको विकासक्रम झल्काउने अडियो(भिजुअल प्रस्तुत गरिएको थियो। कार्यक्रममा आनका पूर्वअध्यक्ष, कृति अवार्ड्सका प्रवर्द्धक तथा मिडिया अलायन्स नेपालका संस्थापक अध्यक्ष भाष्करराज राजकर्णिकरले स्वागत मन्तव्य राखेका थिए।
अवार्ड्सको यस १३औँ संस्करणको शीर्ष प्रायोजक सारस बेभरेज प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। आनका अध्यक्ष सुदीप थापाले धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण सहयात्री तथा सरोकारवालाहरूप्रति आभार प्रकट गरे।




