काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । नेपाली उत्पादनमा पर्याप्त सम्भावना भए पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको उनको भनाइ छ ।
‘नेपाली ब्रान्ड परिसंरचना, २०८३’ सम्बन्धी अनुसन्धानात्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मल्होत्राले नेपाली ब्रान्डको विकासका लागि कानुनी सुधार, नीतिगत स्थिरता र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
नेपालमा छुर्पी, बेसार र अलैँचीजस्ता सम्भावनायुक्त उत्पादनको समेत प्रभावकारी ब्रान्डिङ हुन नसकेको उल्लेख गर्दै उनले कतिपय अवस्थामा नक्कली ब्रान्डका वस्तु बजारमा बिक्री भइरहेको बताए । ब्रान्डिङसम्बन्धी कानुनी समस्या समाधान गर्न उपयुक्त कानुन निर्माण गरी त्यसको शीघ्र कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
मल्होत्राका अनुसार नेपाली ब्रान्ड कुनै वस्तु वा सेवाको नाममा मात्र सीमित छैन । यो उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र मुलुकको आर्थिक पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।
नेपालमा उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात विस्तारका विषयमा लामो समयदेखि बहस भइरहे पनि उत्पादन बढाउनु मात्र पर्याप्त नहुने उनले बताए । उत्पादनसँगै गुणस्तर, ब्रान्डिङ, बजार विस्तार र उपभोक्ताको विश्वास निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ छ ।
‘मेड इन नेपाल’ लाई विश्व बजारमा स्थापित गर्न सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको मल्होत्राले बताए । सरकारले स्थिर नीति, लगानीमैत्री कानुन, सहज व्यावसायिक वातावरण तथा पूर्वाधार र प्रविधिको विकासमा जोड दिनुपर्ने उनले उल्लेख गरे ।
त्यस्तै, निजी क्षेत्रले नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने तथा सञ्चार क्षेत्रले नेपाली उत्पादन र सफल उद्यमशीलताका कथा स्वदेश तथा विदेशमा पुर्याउनुपर्ने उनले बताए ।
नेपाली उद्योग, स्वदेशी उत्पादन र ब्रान्डको पहिचानसम्बन्धी अध्ययन तथा प्रतिवेदन तयार गरेकोमा उनले कर्पोरेट नेपाललाई धन्यवाद दिँदै प्रतिवेदनले आगामी दिनमा नीति निर्माण र व्यावसायिक रणनीति तय गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाली ब्रान्डको विकासले उत्पादन, रोजगारी, निर्यात र समग्र अर्थतन्त्रलाई थप बलियो बनाउन सक्ने उनको भनाइ थियो ।




