काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी गरिने अन्तर्राष्ट्रिय बहिर्गमन कल (आउटगोइङ कल) को पल्स समयावधि (रिटेल पल्स ड्युरेसन) परिमार्जन गरेको छ।
टेलिकमले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब विश्वका सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुने जानकारी दिएको हो।
दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयबाट प्राप्त स्वीकृतिबमोजिम उक्त पल्स दर कायम गरिएको टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जनाएका छन्।
यसअघि गत २०८२ फागुन १ गतेको निर्णयानुसार ५८ वटा देशमा यो पल्स दर लागू भइसकेको थियो। अब बाँकी रहेका सबै देशहरूमा समेत भोलि (२०८३ मङ्सिर ८ गते) देखि नयाँ पल्स दर लागू हुने विज्ञप्तिमा उल्लेख छ।
नयाँ व्यवस्थाअनुसार अब सबै देशका दूरसञ्चार सेवा प्रदायकहरूमा इन्टरनेसनल एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ प्रयोग गरी बहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर लागू हुनेछ।
ग्राहकहरूले अन्तर्राष्ट्रिय कल गर्नका लागि सुरुमा एक्सेस कोड, त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड र सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने टेलिकमले स्पष्ट पारेको छ। साथै, विभिन्न देशमा कल गर्दा लाग्ने विस्तृत शुल्क दररेट नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।



