RE
Global College

ठगी आरोपमा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार खड्का पक्राउ

काठमाडौं । जीटूजीबाट इजरायलमा केयरगिभरमा पठाइदिने प्रलोभन देखाई साढे दुई करोड रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा रामेछापकी विनिता खड्का पनि पक्राउ परेकी छन् । यो प्रकरणमा यसअघि चारजनालाई सीआईबीले पक्राउ गरिसकेको छ । उनी विशेष महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।

खड्का कांग्रेसको जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदकी खुला महिला तर्फकी उम्मेदवार समेत हुन् । उनलाई पक्राउ गरिएको सीआईबी प्रमुख एआईजी उमा प्रसाद चतुर्बेदीले बताए ।

यसअघि रामेछापकै भरत चौलागाईँ र बालिका शिवाकोटीसहितलाई प्रहरीले पक्राउ गरेको थियो । चौलागाईँ कांग्रेसकै नेता हुन् । बालिका कांग्रेससम्बद्ध प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् ।

सीआईबीका अनुसार, सन् २०२४ मा इजरायलको केयरगिभर रोजगारीका लागि सञ्चालित परीक्षा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीहरूको मानसिक तनाव र बाध्यताको फाइदा उठाउँदै यो गिरोहले योजनाबद्ध रूपमा ठगी गरेका थिए । परीक्षामा उत्तीर्ण ३४६१ मध्ये ११५२ जना प्रतीक्षा सूचीमा थिए ।

उनीहरूले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग आफ्नो निकट सम्बन्ध रहेको र मन्त्रिपरिषद् (क्याबिनेट) बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने झुट्टा आश्वासन दिएका थिए ।

पहिलो चरणमा १५६ जना युवाहरूलाई पठाउने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फर्जी कागजात देखाएर २ करोड ५० लाख रूपैयाँभन्दा बढी रकम असुल गरेको सीआईबीले जनाएको छ ।

हिजोमात्र प्रहरीले पीडितहरूलाई आवश्यक प्रमाणसहित यथाशीघ्र जाहेरी दरखास्त दिन सार्वजनिक आव्हान गरेको थियो ।

 

NECO

Leave Your Comment

Related News