RE
Global College

शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्य : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढी व्यावहारिक र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन्। शनिवार पशुपति मित्र माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई परीक्षा केन्द्रित नभई राष्ट्रप्रति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्ने बताएका हुन्।

राष्ट्रपति पौडेलले विश्वव्यापी रूपमा भइरहेको तीव्र परिवर्तनलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष सुधारको खाँचो रहेको बताए।

उनले भने, ‘विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ। विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्न आवश्यक छ। तर प्रविधिसँगै मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलता पनि उत्तिकै सुदृढ हुनुपर्छ। त्यसैले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्नुपर्छ।’

शिक्षालाई केवल सैद्धान्तिक ज्ञान आर्जन वा राम्रो अङ्क ल्याउने माध्यमका रूपमा मात्र नबुझ्न राष्ट्रपति पौडेलले आग्रह गरे। उनले विद्यालय स्तरदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना र सामाजिक मूल्य मान्यताको विकास गराउन सरोकारवालाहरूले ध्यान दिनुपर्ने उल्लेख गरे।

उनले भने, ‘शिक्षाको उद्देश्य परीक्षामा राम्रो अङ्क ल्याउनु मात्र होइन, समस्या समाधान गर्न सक्ने, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्नु पनि हो। यसका लागि सरकार, नीति निर्माता, विद्यालय र समुदायबीच सहकार्य आवश्यक छ। विगतका अनुभव र उपलब्धिलाई आधार बनाउँदै हामीले भविष्यको शिक्षालाई गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी बनाउनुपर्छ।’

NECO

Leave Your Comment

Related News