काठमाडौं । लगातारको वर्षाका कारण गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आरुघाट जलमापन केन्द्रमा नदीको जलसतह लगातार बढ्दो क्रममा रहेको छ।
जलमापन केन्द्रका अनुसार आरुघाटमा सतर्कता तह ४.५ मिटर र खतराको तह ५.० मिटर तोकिएकोमा आइतबार बिहान सम्ममा जलसतह बढेर ८.४३ मिटर पुगेको छ, जुन खतराको तहभन्दा निकै माथि हो। नदीमा बाढीको बहाव अझै बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ।
यी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बूढीगण्डकी र त्रिशूली तथा नारायणी नदीमा जलसतह अत्यधिक बढेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी निम्न जिल्लाका नदी किनार तथा होचा भूभागमा बसोबास गर्ने बासिन्दालाई सजग रहन भनिएको छ:
-
गोरखा
-
धादिङ
-
तनहुँ
-
चितवन
-
नवलपरासी (पूर्व)
-
नवलपरासी (पश्चिम)
स्थानीय प्रशासन तथा बाढी पूर्वानुमान महाशाखाले नदी किनारमा नजान, गाईवस्तु नचराउन र नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा रहन वा पूर्वतयारी अपनाउन विशेष अनुरोध गरेका छन्।






