काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीले गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा आएको बाढीबारे विस्तृत जानकारी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन। उनका अनुसार आज बिहान करिब ४:०० बजेदेखि गोरखाको चुमनुब्री गाउँपालिकास्थित चुम्चेत क्षेत्रबाट सिर्जना भएको ठूलो बाढीले माथिल्लो क्षेत्रमा क्षति पुर्याएको छ र यो तल्लो क्षेत्रतर्फ आउँदै गरेको पुष्टि भइसकेको छ। महाशाखाले बिहानैदेखि तल्लो क्षेत्रहरूमा एसएमएसमार्फत पूर्वसूचनाहरू सम्प्रेषण गरिरहेको छ।
बाढीको अवस्थाबारे जानकारी दिँदै आरुघाट क्षेत्रमा बिहान ६:३० बजेतिर पहिलो सानो बाढी र ७:५० बजेतिर दोस्रो अलि ठूलो बाढी आएर घटेको तथा हाल तेस्रो बाढी देखिएको जनाइएको छ। हालसम्म आरुघाट वा सोभन्दा तल्लो क्षेत्रमा ठूलै असर परिहालेको नदेखिएको भए पनि माथिल्लो क्षेत्रमा यसले ठूलै असर पारिसकेको छ। यो बाढी मानव बस्तीभन्दा पनि हिमाल क्षेत्रबाटै सुरु भएको देखएको छ भने नदी थुनिएको हो वा हिमाली क्षेत्रबाट बाढी आएको हो भन्ने बारे अध्ययन भइरहेको छ र यसको सत्यतथ्य केही घण्टामा बाहिर आउनेछ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै बूढीगण्डकीको त्रिशूली दोभानसम्मको क्षेत्रमा नदीको छेउछाउमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। नदी किनारका घरहरू छोडेर उच्च स्थानमा बस्न तथा बूढीगण्डकी कोरिडोरका सडकहरूमा आवतजावत बन्द गर्न आह्वान गरिएको छ। विशेष गरी आरुघाट, तातोपानी, माछिखोला, आरखेत लगायत नदी किनारका सबै होचा स्थानका बस्ती र बजारहरूमा नदीको छेउछाउमा नरही सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायले सर्वसाधारणको सुरक्षाका लागि पूर्ण सतर्कता अपनाएका छन् भने महाशाखाले अर्को स्पष्ट सूचना नआउन्जेलसम्म आज साँझसम्मै नदीको छेउछाउमा नजान र जोखिमबाट बच्न सबैमा पुनः अनुरोध गरेको छ।





