काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्।
यसअघि तत्कालीन सरकारले गत असार १ गते प्रदेशसभामा पेस गरेको विनियोजन विधेयक र अर्थ विधेयक फिर्ता लिएर आवश्यक परिमार्जन तथा पुनरावलोकनसहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नयाँ बजेटको आकार भने अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटकै बराबर छ।
प्रदेश सरकारले बजेटको स्रोतका रूपमा आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ। नेपाल सरकारबाट राजस्व बाँडफाँटमार्फत १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।
त्यस्तै, संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने रकम ९ अर्ब ६५ करोड रुपैयाँ स्रोतका रूपमा राखिएको छ।
यसैगरी, ससर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ र विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन परिवर्तन भएपछि बजेट पारित हुन सकेको थिएन। असार २९ गते नेकपा (एमाले) को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।
बजेट पारित हुन नसक्दा प्रदेशमा करिब दुई महिनादेखि बजेट शून्यताको अवस्था रहेको थियो। नयाँ बजेट प्रस्तुत भएसँगै प्रदेशको बजेटसम्बन्धी अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।
प्रदेशसभाको अर्को बैठक ३० मिनेटपछि बस्ने जानकारी सभामुखले दिएका छन्।




