काठमाडौं । नेपाल बीमा प्राधिकरणको बीमकको संस्थागत सुशासन तथा वित्तीय अनुशासन लगायतको विषयमा केन्द्रित रहेर चालू चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौ महिनामा एक पुनर्बीमकसँगै ६ वटा बीमा कम्पनीहरूमा स्थलगत निरिक्षण गरेको छ ।
प्राधिकरणका अनुसार, २ वटा कम्पनीमा नियमित र १ वटा कम्पनीमा आकस्मिक गरी ३ वटा जीवन बीमकको प्रधान कार्यालयमा स्थलगत निरिक्षण गरिएको हो । यस अन्तर्गत जीवन बीमातर्फ एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा नियमित स्थलगत निरीक्षण गरेको हो । आकस्मिक निरीक्षणअन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा निरीक्षण गरिएको छ । बीमा प्राधिकरणले जीवन बीमकको कार्यालयमा दुई सातासम्म स्थलगत निरिक्षण गरेको थियो।
यसैगरी प्राधिकरणले सरकारी स्वामित्वको पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको आकस्मिक निरीक्षण गरेको छ। यसबाहेक निर्जीवन बीमक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडमा नियमित स्थलगत निरिक्षण गरिएको प्राधिकरण सम्बद्ध श्रोतले जानकारी दिएको छ।
स्थलगत निरिक्षणका क्रममा बीमकको अण्डरराइटिङ अभ्यास, म्यादी बीमाको व्यापार, लगानीमा बीमकको सञ्चालक तथा उच्च व्यवस्थापनको वित्तीय स्वार्थ, आन्तरिक नियन्त्रण, संस्थागत सुशासन, सम्पत्ती शुद्धिकरण निवारणमा बीमकको सकृयता, सञ्चालक समितिको निर्वाचन, बीमा व्यवसाय प्रवर्द्धनका लागि गरिएको खर्च, अभिकर्ता कमिशन तथा प्रोत्साहनवापतको खर्च, कर्मचारी नियुक्ति तथा वृत्ती विकास, विभाग प्रमुखहरूको योग्यतालगायतका विषयमा मुख्य चासो राखिएको बताइएको छ।
निरिक्षणमा सहभागि कर्मचारीहरूका अनुसार, स्थलगत निरिक्षणका क्रममा फेला परेका गडबडी र कैफियतका सम्बन्धमा बीमकबाट लिखित जवाफ समेत प्राप्त भइसकेको छ । बीमकको तर्फबाट जवाफ प्राप्त भएर गम्भीर लापरवाही र बदमाशी देखिएको विषयमा कारवाहीको निर्णय बीमा प्राधिकरणको सञ्चालक समितिले गर्नुपर्छ। यसका लागि प्राधिकरणको नियमन शाखाले प्रतिवेदन तयार पारेर कार्यकारी निर्देशक मार्फत् अध्यक्ष समक्ष पेश गरिसकेको छ। स्थलगत निरिक्षण कार्य सम्पन्न भएको महिना बितिसक्दा पनि अझैसम्म स्थलगत निरिक्षणको प्रतिवेदन प्राधिकरणको सञ्चालक समिति समक्ष पेश नभएको सम्बद्ध श्रोतले बतायो।
यसैबीच प्राधिकरणको स्थलगत टोलीले लघु बीमा कम्पनीहरूमा गरेको स्थलगत निरिक्षणका आधारमा प्राप्त प्रतिवेदनमा समेत बीमा कोष, पूँजी र लगानीको दुरूपयोग फेला परेको प्रतिवेदन समेत नियमन शाखाले कार्यकारी निर्देशकमार्फत् अध्यक्ष समक्ष पेश गरिसकेपनि कारवाही सम्बन्धमा कुनै पनि निर्णय लिएको छैन ।
प्राधिकरणले गत आर्थिक वर्षको जेठ र असारमा २ जीवन बीमक, १ निर्जीवन बीमक तथा १ ब्रोकरको कार्यालयमा आकस्मिक स्थलगत निरिक्षण गरेकोमा कैफियतका आधारमा एउटा जीवन बीमकलाई सचेत गराएको थियो।




