काठमाडौं । भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आज सोमबार हुँदैछ।
सरकारले असोज २ गते १३ देशका लागि राजदूत नियुक्त गर्न प्रस्ताव गरेको थियो। प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइका लागि संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिमा पठाइएको थियो।
समितिले सबै प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको थियो। प्राप्त उजुरीहरूको अध्ययनपछि समितिले सोमबारदेखि संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्न लागेको हो।
संसदीय सुनुवाइ समितिका सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार पहिलो चरणमा चार देशका लागि प्रस्तावित राजदूतलाई सुनुवाइका लागि बोलाइएको छ।
पहिलो चरणमा भारतका लागि प्रस्तावित डा. निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरनजंग थापा र बेलायतका लागि प्रस्तावित गौरवशमशेर जबराको संसदीय सुनुवाइ हुनेछ।
उनीहरूको सुनुवाइ सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा हुने समितिले जनाएको छ।





