काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि दबाब र प्रभावमा नपरी इमानदारिता र नैतिकताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक प्रहरी कार्यक्रममा सहभागी भएका हुन्।
सोमबार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको १–१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भेदभावरहित र कुशल प्रहरी सेवा प्रवाहमार्फत नागरिकमा विश्वास जगाउनुपर्ने बताएका हुन्।
‘भेदभाव नगरी प्रहरीले कुशलतापूर्वक काम गर्नेछ भन्ने विश्वास नागरिकमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु,’ उनले भने।
आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको पहिलो मानक इमानदारिता र नैतिकता भएको बताए। उनले जिम्मेवारी निर्वाह गर्दा जवाफदेहिता महत्त्वपूर्ण हुने उल्लेख गर्दै कुनै पनि अनुचित प्रभावमा नपर्न आग्रह गरे।
‘मलाई विश्वास छ, यहाँहरू कुनै दबाब र प्रभावमा पर्नुहुनेछैन,’ उनले भने। प्रहरी संगठनको प्रोटोकलविपरीतका काममा संलग्न नहुन पनि उनले निरीक्षकहरूलाई सचेत गराए।
समयसँगै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अनुसन्धानलाई परिणाममुखी बनाउन प्रविधिको प्रयोगमा जोड दिए। उनले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार तत्पर रहेको बताए।
आफ्ना छोराछोरीलाई प्रहरीजस्तो चुनौतीपूर्ण पेसामा आबद्ध गराउने अभिभावक तथा परिवारप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवामा अनुशासन, इमानदारिता र नैतिकताको महत्त्व औँल्याए।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यका अनुसार प्रहरी निरीक्षकको १–१८४औँ समूहबाट ७९ जना दीक्षित भएका छन्। दीक्षित हुनेमा आठ महिला र ७१ पुरुष छन्। उनीहरूले ३४० दिनसम्मको कठिन तालिम पूरा गरेका हुन्।
समारोहमा मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललगायत अधिकारीहरूको उपस्थिति थियो।





