काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा दायित्व फरफारकका लागि सरोकारवालालाई २१ दिनभित्र दाबी पेस गर्न सूचना जारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि बक्यौता र दायित्व फरफारक प्रक्रिया अघि बढाउन सूचना जारी गरिएको हो।
मन्त्रिपरिषद्ले २०८२ वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न गरेको हो।
कारखानाले सोमबार सार्वजनिक सूचना जारी गर्दै कारोबार गर्ने ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई आवश्यक प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ। कुनै निकायको फैसला वा निर्णयअनुसार लिनुपर्ने वा दिनुपर्ने हरहिसाब, जग्गा रोक्का, बिमा तथा कर्मचारीको सेवा सुविधासम्बन्धी दाबी भएमा २१ दिनभित्र सम्पर्क गर्न सूचनामा भनिएको छ।
त्यस्तै, कारखानालाई तिर्न वा बुझाउन बाँकी बक्यौता भएमा सम्बन्धित व्यक्ति वा संस्थाले तोकिएको समयभित्रै दाबी पेस गर्नुपर्नेछ।
कारखानाले तोकिएको म्यादभित्र दाबी पेस नभएमा प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने जनाएको छ। म्याद समाप्त भएपछि उद्योगउपर कुनै दाबी नलाग्ने पनि सूचनामा उल्लेख छ।
दाबी पेस गर्न चाहने सरोकारवालाले धनुषाको जनकपुरस्थित कारखानाको कार्यालयमा सम्पर्क गर्न सक्नेछन्। यसका साथै ९८४५१०५००८ नम्बरमा फोन गरेर वा इमेलमार्फत पनि दाबी पेस गर्न सकिने व्यवस्था गरिएको छ।





