काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलमा आजदेखि यातायात पुन सञ्चालनमा आएको छ।
बाढीले पुलको ३० मिटर एप्रोच सडकमा पुर्याएको क्षतिलाई मर्मत गरी अस्थायी संरचना निर्माण गरेसँगै अवरुद्ध यातायात सेवा सुचारु गरिएको हो। उक्त क्षतिग्रस्त सडक तथा अवरुद्ध यातायात पुनः सञ्चालनमा ल्याउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ५० जना स्थानीय जनशक्तिलाई संयुक्त रूपमा परिचालन गरिएको थियो। यातायात सुचारु भएपछि यस क्षेत्रका यात्रुहरू र दैनिक आवतजावत गर्ने सर्वसाधारणले सहजता महसुस गरेका छन्।




