काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन परीक्षामा अनियमितता गरेको भन्दै ४१ जना बीमा अभिकर्ता परीक्षार्थीमाथि कारबाही गरेको छ। प्राधिकरणले उनीहरूको परीक्षा रद्द गर्दै तीन महिनासम्म अभिकर्ताको परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको हो।
प्राधिकरणका अनुसार अनलाइन परीक्षामा सहभागी केही परीक्षार्थीको विवरण र परीक्षामा उपस्थित व्यक्तिबीच फरक पाइएको थियो। अनलाइन प्रणालीमा प्रविष्ट गरिएको तस्बिरमा भएको व्यक्तिभन्दा फरक व्यक्ति परीक्षामा सहभागी भएको तथा परीक्षामा अनियमितता गरिएको निरीक्षणका क्रममा फेला परेपछि कारबाही गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणबाट सञ्चालित बीमा अभिकर्ताको अनलाइन परीक्षाको निरीक्षणमा खटिएको टोलीले अनियमितता पत्ता लगाएपछि सम्बन्धित परीक्षार्थीमाथि कारबाही गर्ने निर्णय गरिएको हो।
प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा (५) बमोजिम परीक्षा रद्द गरेको जनाएको छ। त्यस्तै, सोही दफाको उपदफा (६) अनुसार उनीहरूलाई तीन महिनासम्म अभिकर्ताको परीक्षामा सहभागी हुन रोक लगाइएको छ।
विभिन्न बीमा कम्पनीमा आबद्ध भई बीमा अभिकर्ताका रूपमा काम गर्न आवश्यक परीक्षा दिन लागेका परीक्षार्थीमाथि कारबाही गरिएको हो। प्राधिकरणले अनलाइन परीक्षाको मर्यादा कायम राख्न र परीक्षामा हुने अनियमितता नियन्त्रण गर्न सम्बन्धित निर्देशिकाअनुसार कारबाही गरेको जनाएको छ।
कारबाहीमा परेकाको हेर्नुहोस् सूची :





