RE
Global College

दसैँ मनाउन गाउँ फर्किनेको लर्को, २४ घण्टामा उपत्यकाबाट ५६ हजारभन्दा बढी बाहिरिए

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ । दसैँ मनाउन अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिसहरू गाउँ फर्किन थालेका छन् ।

काठमाडौँ उपत्यकाका विभिन्न नाकामा लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । परिवार र आफन्तसँग दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या पनि बढेको हो ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ यात्रु बाहिरिएका छन् ।

उनका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुङ्गा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरिएका छन् ।

घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवस्थापनमा भने समस्या देखिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले सडकको अवस्थाका कारण सवारीसाधन व्यवस्थापनमा कठिनाइ भएको बताए ।

“दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,” उनले भने ।

असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर सवारी आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएको गौतमले बताए । यसले यात्रु व्यवस्थापनमा थप समस्या सिर्जना गरेको उनको भनाइ छ ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ ।

दसैँ परिवार, आफन्त र समुदायसँग भेटघाट गरी मनाइने प्रमुख चाड भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बस्दै आएका मानिसहरू हरेक वर्ष यो समयमा घर फर्किने गर्छन् । यस वर्ष पनि दसैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थालेको छ ।

NECO

Leave Your Comment

Related News