RE
Global College

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, ३५ रुपैयाँदेखि डेटा प्याकेज

काठमाडौं ।  नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डेटा तथा कम्बो प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले मोबाइल प्रयोगकर्ताका लागि सस्तो मूल्यका भ्वाइस प्याकेजदेखि अनलिमिटेड इन्टरनेट र एसएमएस सुविधासहितका प्याकेज उपलब्ध गराएको हो ।

नेपाल टेलिकमका अनुसार अन-नेट भ्वाइस प्याकेजअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँका प्याकेज उपलब्ध छन् । यी प्याकेजमा क्रमशः १०१, १११, २२२, ३३३ र ६६६ मिनेटसम्म कल गर्न सकिने सुविधा छ । प्याकेजको समयावधि क्रमशः एक, तीन, सात, ३० र ३० दिन रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, सजिलो अनलिमिटेडअन्तर्गत ६९९ रुपैयाँको ३० दिन अवधिको प्याकेजमा अनलिमिटेड अन-नेट भ्वाइस, ३० जीबी डेटा र २०० अन-नेट एसएमएस प्रयोग गर्न सकिनेछ । यसैगरी, १ हजार ४९९ रुपैयाँको ३० दिन अवधिको प्याकेजमा अनलिमिटेड अन-नेट भ्वाइस, ६०० जीबी डेटा र ३५० अन-नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पोस्टपेड प्रयोगकर्ताका लागि ३७३ रुपैयाँको रेन्टल चार्जमै विभिन्न भ्वाइस तथा डेटा प्याकेजसँगै अन्य कम्बो प्याकेज पनि उपलब्ध गराइएको छ ।

कम्पनीले भ्वाइस र डेटा प्याकेजबाहेक बन्डल प्याकेज, एड-अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याकेज तथा एफटीटीएच प्याकेजसमेत उपलब्ध गराएको जनाएको छ । फरक क्षमता भएका व्यक्तिका लागि पनि छुट्टै प्याकेजको व्यवस्था गरिएको छ ।

नेपाल टेलिकमका अनुसार ‘अटम अफर २०८३’ असोज २६ गतेदेखि लागू भएको हो । ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरी विभिन्न प्याकेजबारे जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन् । कम्पनीको वेबसाइट www.ntc.net.np बाट पनि विस्तृत जानकारी लिन तथा प्याकेज खरिद गर्न सकिने प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिएका छन् ।

NECO

Leave Your Comment

Related News