काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषहरूको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता साधारण सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर ५ गतेपछि समाप्त हुनेछ। लकइन अवधि सकिएपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन् ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गरेको थियो । त्यसमध्ये सामूहिक लगानी कोषहरूलाई १ लाख ५१ हजार ५३३ कित्ता साधारण सेयर बाँडफाँड गरिएको थियो । सामूहिक लगानी कोषलाई छुट्याइएको सेयरमा सर्वसाधारणलाई सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइन अवधि रहने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार सामूहिक लगानी कोषको स्वामित्वमा रहेको सेयरको लकइन अवधि मंसिर ५ गतेपछि समाप्त हुन लागेको कम्पनीले जनाएको छ । तर, सामूहिक लगानी कोषका दुई योजना परिपक्व भइसकेकाले नेपाल धितोपत्र बोर्डको २०८० कात्तिक २० गतेको पत्रअनुसार ती योजनाको स्वामित्वमा रहेको कुल २ हजार ५०१ कित्ता सेयरको लकइन अवधि यसअघि नै फुकुवा गरिएको थियो। त्यसैले अब लकइन खुल्न बाँकी सेयर संख्या १ लाख ४९ हजार ३२ कित्ता रहेको हो ।





